बागलुङ, १६ वैशाख– कर्मचारीमा कोरोना संक्रमण देखिएको र केही थप कर्मचारी कन्ट्रयाक्ट ट्रेसिङमा परेको भन्दै बागलुङ नगरपालिका कार्यालय बन्द भएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले बिज्ञप्ती प्रकाशित गरेर बिहिबार र शुक्रबार बन्द रहने बताएका हुन् । आइतबारदेखि कार्यालय खुल्ने नखुल्ने विषयमा भने त्यसपछिको परिस्थितिले निर्धारण गर्ने बताइएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहितको टोली केही दिनअघि भ्रमणमा थियो । उनीहरु फर्केपछि एक जनालाई कोरोना पोजेटिभ देखिएकोले अन्यको पनि पीसीआर गर्नुपर्ने भन्दै सेवाग्राहीमा पनि सर्न सक्ने भएकोले कार्यालय बन्द गरिएको सूचनामा उल्लेख छ ।
नगरपालिकामा यो समयमा योजनाहरुको निकासा दिने, छिटफुट योजना सम्झौता र मूल्यांकन गर्ने कार्यक्रम चलिरहेको छ । यस्तो अवस्थामा कार्यालय बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । अत्यावस्यक सेवाको रुपमा स्वास्थ्य शाखा र सरसफाई शाखा भने खुल्ने बताइएको छ ।
यसअघिनै बागलुङको बलेवा क्षेत्रका ३ वटा वडाहरुमा निशेधाज्ञा लगाइएको छ । सातादेखि विद्यालयहरु बन्द छन् । त्रिविको सूचनापछि यहाँको धौलागिरि बहुमुखी क्यामपसको परीक्षा र पढाइ पनि बन्द भएको छ । विस्तारै धेरै क्षेत्रमा लकडाउनको असर परेपनि बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड अपनाउने विषयमा भने अझै नागरिकहरु गम्भिर भएका छैनन् ।
सशष्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सरोकारवाला संस्थाले बजार क्षेत्रमा मास्क अनिवार्य लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतको आग्रह गरेपनि अहिलेसम्म पालना भने भएको छैन । बिशेषगरी पसलमा बस्ने व्यवसायीले मास्क नलगाएको, बजारमा हिँडेकाहरु, जिप तथा ग्रामीण क्षेत्रमा जाने सवारीका चालक समेतले मास्क नलगाउने गरेको प्रवृत्ति रहेको ट्राफिक प्रहरी प्रमुख शिवराज पाठकले बताए । उनीहरुलाई पटक पटक आग्रह गर्दा पनि अटेर भैरहेको उनको भनाई छ ।





