बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धरहरा नचढेर जस्ले पुर्नजीवन पाए

धरहरा नचढेर जस्ले पुर्नजीवन पाए


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७८, शुक्रबार
?

बागलुङ, १७ वैशाख– इलेक्ट्रीकल्स पसलको सामान किन्न काठमाण्डौ जाँदा श्रीमतीलाई धरहरा चढाउने उनको धोको थियो । २०७२ सालको वैशाख १२ गते बानपा–९ तित्याङका लेखबहादुर खड्काले श्रीमती टिकाकुमारी खड्कालाई धरहरा घुमाउन लगेका थिए ।
पहिला चढ्न खोजेकी टिकाले नजिकै गएपछि अग्लो देखेर चढ्न मनिनन् । टिकट काटीसकेर पनि उनले नमानेपछि खड्काले पनि चढेनन् । टिकट काटेर लाइनमा बस्दा टिकाले धरहरा ढल्ला जस्तो छ भनेर चढ्नै नमानेपछि सुन्धाराको होटलमा फर्कन लाग्दा अचानक आएको भूकम्पले धरहरा ढलेको थियो । उक्त दिनको सम्झनामा खड्का भन्छन्, ‘नचढेको कारणले बाँचियो ।’
श्रीमतीको जिद्दीले जीवन बाँचेकोमा अहिले उनी खुशी छन् । नयाँ बनेको धरहरा भने हेर्न जाने योजना उनले सुनाए । ‘श्रीमतीले जिद्दी गर्दा टिकट काटेर पनि बाँचियो’ उनले उक्त दिनको सम्झना गर्दै भने, ‘टिकट काटिसकेपछि पनि चढ्ने नचढ्ने भनेर झगडानै भएको थियो ।’ बागलुङ नगरपालिका–९ तित्याङ घर भई सदरमुकाममा ‘न्यू शुभकामना इलेक्ट्रीकल्स सेन्टर’ चलाएका खड्काको अनुभव हो यो । बिनाशकारी भूकम्पले धरहरासहितका सम्पदा ढाल्दा सयौंले ज्यान गुमाएका थिए । उनी भने संयोगले बाँचेर पुर्नजीवन पाएका छन् ।
धरहरा नचढेपछि खड्का दम्पत्तिले युवाहरुलाई फोटो खिचाउन लगाएका थिए । उनको फोटो खिचिदिने गलकोटका युवाको धरहरामै परेर ज्यान गएको थियो । तत्कालै घटनास्थल पुग्दा खड्काले धरहराको छेवैमा कोलाहल देखेको सुनाए । कोही रोइरहेका थिए, कोही थिचिएका थिए, कतिपय मरिसकेका थिए । उक्त घटनामा खड्काको फोटो खिचिदिने बागलुङको गलकोटका ती युवाको मृत्यु भएको थियो ।
आमाको उपचार गर्न गएका ती युवा धरहरामा परेका थिए । उक्त घटनापछि मृतकका बिरामी आमाबाबुको समेत मृत्यु भैसकेको छ । भुकम्पको ३० मिनेटपछि मात्रै खड्काले बागलुङस्थित घरमा जेठो छोरा शेखरलाई फोन गरें । तीन वर्षको नाती स्पर्शसहित सबै सञ्चै रहेको थाहा पाएपछि उनी ढुक्क भएको बताए । तत्काल फर्केर घर आउने मन भएपनि चार दिनसम्म सवारी साधन नपाएर खड्का दम्पत्तीले काठमाण्डौको टुंडिखेलमा टाँगिएका पालमा दिन बिताएको बताए ।
‘उक्त घटनाले तीनचार दिनसम्म बसपार्क कता पर्छ भन्ने समेत भुलेको थिएँ’ उनले भने, ‘केही भएको छै्न, तर दिमागले कामै गरेको थिएन ।’ भारतीय समाचार च्यानलले धरहराको घटना स्मरण गराउने गरी प्रश्न सोधेको भने उनले सम्झेको बताए । ‘के सोधे, के बताए’ होला भन्ने अहिलेसम्म हेक्का छैन’ उनले भने, ‘देशको इतिहास बोकेको धरहरालाई चढ्नेभन्दा हेर्ने बनाएको भएपनि दुर्घटना हुने थिएन ।’ तत्कालिन समयमा चढ्ने गरी धरहरा नबनाएको तर जर्बजस्ती चढाउने काम गर्दा मानवीय क्षति भएको उनले बताए ।
शनिबार उद्घाटन भएको धरहरा भने पर्यटकीय दृष्टीले महत्वको भएको बताए । उठेको धरहरा चढ्न जाने योजना समेत सुनाए । ‘अब धरहरा चढ्नेबाटै खर्च समेत उठ्नेछ’ उनले भने, ‘छिट्टै उठेको धरहराले देशको आर्थिक अवस्था पनि फेर्नेछ ।’ फर्केर बागलुङ आइपुग्दा लालीगुराँस चोकमा बसेको घरपनि चर्केर बस्न नहुने भएपछि उनले नयाँ डेरा सरेको बताए । पत्नीको झगडाले नाफाको जीवन बिताउन पाएकोमा उनी खुसी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->