बागलुङ, १७ वैशाख– संघ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भएको योजना ठेक्का लगाउँदा निर्माण कम्पनीले छोडेको रकमले जैमिनी नगरपालिकाको मुकाम सुधार विस्तारको काम थालिएको छ । संघीय र प्रदेश सरकारको समपुरक बजेट परिचालनबाट सञ्चालन भएको योजनामा बचेको रकम पालिका मुकाम कुश्मीशेरा बजारको सुधार विस्तारमा लगाईएको हो ।
समपुरक बजेटमा साझेदारी गरेर नगरपालिकाले कालीगण्डकी करिडोर जैमिनीधामदेखि पालिका मुकाम कुश्मीशेरा बजारसम्मको सडक स्तरोन्नतीको काम गरिरहेको छ । बहुवर्षे यो योजनाका लागि चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।
संघीय सरकारको ८७ लाख, गण्डकी प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ६७ लाख रुपैयाँ गरी दुई करोडमा यो सडक स्तरोन्नती भैरहेको छ । टेण्डर प्रक्रियामा सहभागि भएको निर्माण कम्पनीले कुल बजेटबाट छोडेको ७४ लाख रुपैयाँ पुनः प्रयोगमा ल्याईएको नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले बताए ।
हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने कुश्मीशेरा बजार कालोपत्रे सडकले टल्किने छ । बजारभित्रको १ सय ४५ मिटर सडक ढलान गर्ने र ३ सय मिटर सडक कालोपत्रे गर्ने काम भैरहेको सापकोटाले बताए । ‘मुकामले हामीलाई गिज्याईरहेको थियो, सुधार विस्तारका लागि बजेट थिएन्’ सापकोटाले भने ‘समपुरकको योजनामा बचेको बजेटले बजार सुन्दर बनाउने काम चलिरहेको छ ।’ सडक विभागको मापदण्ड अनुसार पाँच दशमलव पाँच मिटर चौडा सडक कालोपत्रे हुनेछ ।
बजार क्षेत्रको सबै सडकमा नाली निर्माण हुने भएकाले अब भने बर्षामा हिलाम्मे हुने समस्या समाधान हुने स्थानीय विष्णु आचार्यले बताए । निकै साँघुरो रहेको कुश्मीशेरा बजारमा सडक बनाउनका लागि स्थानीयले पुराना संरचना भत्काएका छन् । ‘एउटा घर भत्काउनका लागि अन्तिम सूचना टाँस भएको छ, बाँकी सबैले सडक फराकिलो बनाउन सहयोग गर्नुभयो’ सापकोटाले भने ‘आगामी असारसम्म काम सकिँदा त्यो घरपनि पन्छ्याएर सडक बनाउँछौं ।’
जैमिनीमा दुई वर्ष पहिलेसम्म कालोपत्रे सडक थिएन । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत बागलुङ कुश्मीशेरा सडकको १.६ किलोमिटर खण्ड पक्कि भएपछि जैमिनीले कालोपत्रे सडक पाएको थियो । शेराबजारमा भैरको कालोपत्रेको काम सकिँदा जैमिनी नगरभरी झण्डै तीन किलोमिटर सडक कालोपत्रे हुनेछ ।





