बागलुङ, १७ वैशाख– गत वर्ष २ जना संक्रमित अस्पतालमा भर्ना हुँदा बागलुङमा झण्डै ५ सय जना राख्न सकिने क्वारेन्टाइन तयार भैसकेका थिए ।
सदरमुकामको रामरेखा आधारभूत विद्यालय, शान्ति समितिसहित ग्रामीण तहका अधिकांस बिद्यालयलाई क्वारेन्टाइन बनाइएको थियो । भारतबाट आएका, छिमेकी सहरदेखि आएका वा पैदलयात्री समेतलाई क्वारेन्टाइनमा राखेर गन्तव्यमा पठाउने काम भएको थियो ।
क्वारेन्टाइन बसेपछि उनीहरुको आरडिटी र पीसीआर परीक्षण गरिन्थ्यो । नेगेटिभ रिपोर्ट आएमा घर फर्कन पाउथे, पोजेटिभ आएमा आइसोलेसन जान्थे । त्यतिबेला रामरेखाकै धौलागिरि बहिरा बिद्यालय, धौलागिरि बहुमुखी क्याम्पस र रात्माटास्थित नगरपालिकाको भवनलाई समेत आइसोलेसन बनाइएको थियो । गलकोट, खरवाङ र बुर्तिवाङ सम्मका दर्जनौं बिद्यालय क्वारेन्टाइन थिए ।
तर यो वर्ष डेढसय सक्रिय संक्रमित पुग्दापनि क्वारेन्टाइन बनेका छैनन् । न त आइसोलेसनको तयारी छ । यो पटक पालिका, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिले क्वारेन्टाइनमा किन ढीलाई गरे ? धेरैको प्रश्न उठेपनि जनप्रतिनिधिले यो पटक चासो राखेका छैनन् । खर्च गर्दा पालिकाले गर्ने, त्यसको व्यवस्थापन स्वास्थ्यकर्मीले गर्ने तर जोखिम भत्ता नपाउने, अन्य विकासे बजेट खर्च गर्दा काममा असर पर्ने जस्ता बिषय देखाएर जनप्रतिनिधि तर्कने गरेका छन् । गत वर्ष उद्योग बाणिज्य संघ, लायन्स, लियो, जेसीज र रोट्रयाक्ट लगायतका क्लबले पनि क्वारेन्टाइन बनाउन पहल गरेका थिए ।
अहिले भने स्वास्थ्य कार्यालयले समेत चासो कम गरेको छ । ‘देशभर लकडाउन नभएसम्म को मानिस भारतबाट आएको, को छिमेकी जिल्लाबाट आयो भन्ने पत्ता लगाउनै सकिंदैन, क्वारेन्टाइन बनाएर खर्च मात्रै बढाउनु भन्दा घरमै जाने वातावरण चाहिन्छ’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘हरेकले आफ्नो मात्रै हैन, समाजको सुरक्षामा सचेत बन्नुपर्छ ।’ उनले घरघरलाई नै क्वारेन्टाइन र आइसोलेसन बनाउनुपर्ने बताए । ग्रामीण क्षेत्रका हरेक स्वास्थ्य चौकीमा दुईचार जनादेखि २० जनासम्म राख्न सकिने आइसोलेसनको पूर्वाधार भएकोले जता पायो त्यतै बनाउने बिषयमा चासो नदिएको समेत गुरौले बताए ।
तोकिएका क्वारेन्टाइन अभावमा भारतबाट आएकाहरु सुरक्षित बसेका छैनन् । उनीहरुकै कारण अधिकांस संक्रमण फैलिएको टिप्पणी भएको छ । हरेकले आफ्नो घरमा बसेर नैतिकता प्रर्दशन गर्नुपर्ने गुरौ बताउँछन् । भारतबाट आएकहरुको बेवास्ताले बागलुङको बलेवा क्षेत्रमा कोरोना संक्रमण देखिएको प्रमाणित भएपछि बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ लाई निशेधाज्ञा लगाइएको छ । बिरामी भएको अबस्थामा मात्रै गाउँका स्वास्थ्यचौकी र अस्पतालसम्म पुग्न गुरौ सुझाव दिन्छन् । घरमा बसेका संक्रमितले क्वारेन्टाइन र आइसोलेसनको मापदण्ड पालना गर्नुपर्ने उनले बताए ।





