नवलपुर, १८ वैशाख- प्रहरीले नवलपुरको कावासोतीमा शुक्रबार तपाईको मास्क खोई अभियान चलायो । अभियानसँगै प्रहरीले संक्रमण जोखिममा सरकारले आग्रह गरेको स्वास्थ्य मापदण्ड र लागु गरेका आचारसंहिता र आदेशको उल्लंघन नगर्न यात्रु–नागरिकलाई सम्झाइबुझाइसमेत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयकै अगाडि फलफुल चोकमा पूर्व पश्चिम मुख्यमार्गमा गुडेका २ पांग्रे साधनसहित अन्य साना ठूला यात्रु तथा मालबाहक साधनलाई रोकेर कोभिड १९ सचेतना कार्यक्रम अन्तर्गतको मास्क खोई अभियान भएको हो ।
नयाँ प्रजातिको कडा खालको कोरोना भाइरसको नयाँ भेरियन्टको कोभिड १९ संक्रमण दर नेपालमा पनि क्रमिक रुपमा बढ्दै गएपछि नेपाल सरकारले जोखिम बढी प्रभावित जिल्लालाई सम्वन्धित जिल्ला प्रशासनले आवश्यक अनुसार निषेधाज्ञा–लकडाउन गर्न सक्ने अधिकार दिएलगत्तै नवलपुरका नजिकका २ जिल्ला चितवन र रुपन्देहीमा निषेधाज्ञा लागु भएकै दिन निषेधाज्ञा जारी नभएको जिल्ला नवलपुरमा सचेतनाका लागि कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए ।
पूर्वमा चितवनको नारायणगढ र पश्चिममा रुपन्देहीको बुटवलबाट अत्याधिक रुपमा यात्रुवाहक साधनहरु सञ्चालन हुँदा अति ब्यस्त रहने नवलपुर सडक–खण्डमा शुक्रवार यात्रुवाहक साधनहरु नगुडे पनि बैवाहिक कार्यक्रमका जन्ती सहितका गाडीहरु अधिकांश गुडेका थिए ।
जन्ती बोकेर हिँडेका अधिकांश साधनलाई प्रहरी सहित अभियानमा सहभागी अन्य सरोकारवाला संघसंस्थाका प्रतिनिधिले आफ्नो र आफ्नो परिवारको सुरक्षा अपनाउन आग्रह गरेका थिए । बिवाहको ब्यानर लगाएर सडकमा गुडेका अधिकांश बसहरुमा सरकारले जारी गरेको उपस्थित हुन पाउने संख्याभन्दा धेरै मानिसहरु पाइएपछि प्रहरीले १५ जनाभन्दा धेरै जन्ती नजान आग्रह गरिरहेका थिए भने उनीहरुले यसअघि २५ जनासम्म हिँड्न पाइने भन्ने बुझाई भएकोले आफूहरु जन्ती हिँडेको बताएका थिए ।
गत वर्ष कोरोना संक्रमणको अवस्थामा पनि २५ जनासम्म सहभागी भएर कार्यक्रम गर्न पाउने निर्णय भएकोले अहिलेको मापदण्ड सोहीअनुसार होला भनेर २४ जना जन्ती लिएर आउदा रोकिन परेको दुलाहाका दाजुको बिलौना थियो ।
अघि जे–जस्तो भएपनि पछिल्लो समय सरकारले १५ जनामात्र बिहेवारी कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए । यद्यपि, टाढा–टाढाबाट जन्ती नै हिडेकाहरुलाई एकैछिन होल्ड गरेर अवस्थाका बारेमा जानकारी गराएर छोडिएको थियो । अभियानको क्रममा सडकमा हिड्ने पैदलयात्रुदेखी, चालक, सहचालकलाई मास्क वितरण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक कार्यालय नवलपुरको आयोजनामा भएको अभियानमा नवलपुर जिल्ला भित्रका यातयात ब्यवसायी संघ–संस्थाहरुको संस्थागत ऐक्यवद्धता सहित सहभागिता रहेको थियो ।





