बागलुङ, १८ वैशाख– बिद्यालय तहका बालबालिकामा कोरोना संक्रमण देखिएपछि बागलुङको बलेवालाई निशेधित क्षेत्र घोषणा गरियो । शुक्रबारसम्म यो आदेश कायम थियो । प्रशासनले लगाएको आदेश स्थानीय बासिन्दाले भने उल्लंघन गरेर बिताए ।
कहिले वडा अध्यक्षले सिफारिस लिएर सेवाग्राहीलाई सदरमुकाम ल्याएको बिषयले चर्चा पायो भने कहिले योजना सम्झौता भन्दै उपभोक्ता र जनप्रतिनिधिहरु जर्बजस्त सदरमुकामा धाए । निशेधाज्ञा उल्लंघनकै क्रममा शुक्रबार फरक दृश्य देखियो । निशेधित क्षेत्रबाटै दुई तीनवटा विवाहको जन्ती बागलुङ बजारमा आयो । कोही कालीका मन्दिरको पार्टी प्यालेसमा विवाहमा सामेल भए । कोही कालीमाटी पुगे ।
बैसाख ८ गतेदेखि कालिका मन्दिरमा प्रवेश निषेध गरिएको छ । तर गेटको पार्टी प्यालेसमा विवाह भोज चलिरहेको थियो । सदरमुकामाका अन्य पार्टी प्यालेस पनि भोजभतेर गर्न रोकिएका छैनन् । बलेवाबाट विवाहका लागि आएको बसलाई मालढुंगाको प्रहरीले रोक्यो । बसबाट २० जना ओरालेपछि १० देखि १५ जनालाई जान दियो ।
बाटैमा अलपत्र परेका २० जनाले कुश्माबाट आएको लोकल बस भेटे । उक्त बसमा यसअघिनै झण्डै ३० यात्री थिए । प्रहरी चौकीबाट १० मीटरको दुरीबाट ती जन्ती लोकल बसमा चढे । बसभित्र झण्डै ५० यात्री पुगे । बिबाहको बसमा १५ जना मात्रै बस्न दिएको प्रहरीले उक्त बसमा ५० जना पुगेको वास्तै गरेन ।
कोरोना संक्रमणको त्रास २५ जना एकै ठाउँमा भेला भएमा मात्र हुने हो वा जुनसुकै भीडमा सर्ने भन्ने कुरामै प्रहरी र प्रशासनले बेवास्ता गरेको भेटिएको स्थानीय बिष्णु चापागाइले बताए । ‘निशेधित क्षेत्र घोषणा भएको भनेर बिद्यालय बिदा भएपनि म गाउँ गएको छैन, गाउँबाट धमाधम जन्ती आएका छन्’ उनले भने, ‘आम नागरिक पनि प्रहरीलाई छलेपछि कोरोना जितेझै गर्न थालेका छन् ।’ निशेधित क्षेत्रबाट आएका जन्ती सयौं भएपनि स्वागत गर्ने पद्दती पनि गलत भएको उनले बताए ।
संक्रमणको त्रासबीच दैनिक बिबाह र भोजभतेर भैरहेका छन् । चौरासी पूजामा पनि सयौं भेला भएर भोज खाएको तस्बिर सामाजिक र राजनीतिक अगुवाले पनि सार्वजनिक गरिरहेका छन् । यो बिषयमा प्रशासनले पनि चासो राखेको छैन । ‘चासो त हरेक नागरिकले राख्ने हो, जर्बजस्ती बन्द गरेर हुँदैन, घोषणा भयो भने पसल बन्द गर्न तयार छौं’ उद्योग बाणिज्य संघ बागलुङका सदस्य गणेश लम्सालले भने, ‘जोखिमसँगै बजारमा पनि झन् झन् भीड बढीरहेको छ ।’
प्रशासनले जारी गरेको निशेधित क्षेत्रको समय शुक्रबार बेलुकी सकिएपछि थप आदेश जारी भएको छैन । संक्रमणको दर बढीरहेको छ । गत बर्षझै कन्ट्रयाक्ट ट्रेसिङ नभई लक्षण देखिएको अबस्थामा मात्रै पीसीआर गरिएकोले संक्रमण ग्रामीण क्षेत्रका घर घरमा पनि पुगिसकेको स्वास्थ्यकर्मीले बताए । घर घरलाई सुरक्षित क्वारेन्टाइन र आइसोलेसनको रुपमा बसाल्न यो बर्ष छुट्टै क्वारेन्टाइनमा ध्यान नदिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
सरकारी कार्यालयहरुमा पनि संक्रमणको जोखिम न्युनिकरणका मापदण्ड खासै पालना भएका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले भने बाहिर बाकस राखेर हरेक कार्यालयको कागजात राख्ने व्यवस्था गरेको छ । कार्यालयले पठाउने पत्र पनि बाहिर ल्याएपछि सम्बन्धीत कार्यालयले लैजान थालेका छन् । सिधै कार्यालयमा प्रवेश नगराउँदा संक्रमणको जोखिम कम हुने कोष नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । जिल्लाका अन्य कार्यालयमा अहिलेसम्म सोझै प्रवेश भैरहेको छ । गत बर्ष हात धुने व्यवस्था गरेका कार्यालयले पनि अहिले वास्ता गर्न छाडेका छन् ।





