बागलुङ, १९ वैशाख– ब्लड क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–१३ की गंगादेवि सुबेदी रिजाललाई विदेशमा क्रियाशिल एक संस्थाले सहयोग गरेको छ ।
बलेवा सेवा समाज जापानले सुवेदीको उपचारको लागि सहयोग गरेको हो । समाजले संकलन गरेको २ लाख २५ हजार २५ रुपैयाँ शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिका–१३ पैयुपाटाका अध्यक्ष नारायण शर्मा पौडेल र बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले संयुक्तरुपमा पीडितका देवर बिनोद रिजाललाई हस्तान्तरण गरेका थिए ।
साविक पैयुपाटा गाविस–७ काभ्रेडाडा निवासी २५ वर्षकि गंगा देवी सूबेदी रिजाललाई केही समयअघिदेखी ब्लड क्यान्सरको समस्या भई शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा उपचार गराईरहेकी छन् । कार्यक्रममा वडा अध्यक्ष नारायण शर्माले समाजले गरेको आर्थिक सहयोगले पीडितको उपचारमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा समाजका सचिव अर्जुन लामिछानेले विषम समयमा पनि समाजले सञ्चालन गरेको अभियानमा सहयोग गर्नेलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सामाजिक कार्यलाई निरन्तरता दिने बताए । कार्यक्रम गणेश मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष नरप्रसाद शर्माको अध्यक्षता र लिलाधर रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।





