बागलुङ, १९ वैशाख– बागलुङमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्न थ्रोट स्वाव दिएर लामो समय नतिजा कुनुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरी अस्पताल बागलुङले स्थापना गरेको कोभिड–१९ प्रयोगशालाले २४ घण्टा भित्रै नतिजा दिने भएपछि संकास्पद बिरामीहरुले लामो समय कुर्नुनपर्ने भएको हो ।
नेपाल सरकार मन्त्रीपरिषदले दश महिना पहिला प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको भएपछि प्रकृाया पुरा गरेर दश महिना पछि प्रयोगशाला सञ्चालनमा आएको हो । प्रयोगशाला सञ्चालनका लागि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समेत सहयोग गरेको थियो । दुई साता पहिले जडान भएको मेसिनले अहिले धमाधम काम गरिरहेको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति नपाउँदा रोकिएको स्वाब परीक्षण शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १५ गते मात्रै अस्पताललाई कोरोना परीक्षणको लागि अनुमति दिएको र शुक्रबारदेखि परीक्षण सुरु गरेको धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिए ।
अस्पतालमा जडान गरिएको यो प्रयोगशालामा एकै पटकमा ७० जनाको स्वाब परीक्षण गर्न सकिने छ । शुक्रबार पहिलो चरणमा ३६ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छभने १६ जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ । शनिवार भएको जाँचमा १९ जनाको रिपोट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
बागलुङसहित धौलागिरीका चार जिल्ला मुस्ताङ, म्याग्दी र पर्वतका नागरिकहरुको पनि कस्वाब परीक्षण बागलुङमै हुने छ । जिल्लाबाट पोखरा स्वाब संकलन गरेर पठाउँदा रिपोर्ट आउन तीन÷चार दिन लाग्ने गरेको थियो । यस अवधीमा संक्रमित भएका व्यक्तिबाट अरुमा सर्ने जोखिम बढेको थियो ।





