बागलुङ, १९ वैशाख– कोरोना कहरले च्याप्दै गएपछि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पनि आइसोलेसन बेड तयार गरेको छ । महासंघको सभाहलमा १० जना संक्रमितलाइ राख्न मिल्ने गरी आइसोलेसन बेड बनाइएको हो । संक्रमणको रिपोर्टिङ गर्नुपर्ने र जतिवेलापनि अग्रपंक्तीमा खटिनु पर्ने भएकोले पत्रकार संक्रमण हुने खतरा बढेको भन्दै आइसोलेसन बनाइएको अध्यक्ष नरेश कंडेलले बताए ।
संक्रमण भएमा उक्त आइसोलेसनमा राखेर उपचार गरिने व्यवस्थापनकालागि आइसोलेसन तयार गरिएको हो । पत्रकारहरुले महासंघकै भवनमा बस्न पाएमा सुरक्षित हुने र आफ्नै घर जस्तो अनुभव हुने समेत कंडेलले बताए । महासंघले पहिलो चरणमा १० वटा बेड राखेर पत्रकार बस्ने व्यवस्थापन गराएको हो । महासंघले बागलुङ नगर स्वास्थ्य शाखा र धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलको प्राविधिक सहयोगमा आइसोलेसन वार्ड बनाएको उपाध्यक्ष नविन शिसिरले बताए । स्व्ँस्थ्य शाखाका प्रतिनिधिले अबलोकन गरेर अन्य सामाग्रीको लागि पनि पहल गर्न आग्रह गरेका थिए । महासंघले मास्क, सेनिटाइजर, ज्वरो, प्रेसर र अक्सिजन लेवल नाप्ने व्यवस्थापनपनि भवनमै गरेको छ ।
बागलुङकै जैमिनी नगरपालिका ७ का निलकण्ठ शर्माले महासंघको आइसोलेसन अभियानमा सहयोग गरेका छन् । शर्माको ब्रदर्श सर्जिकल एण्ड डाइनेष्टीक प्रालिले २२ हजारका स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । उक्त सामान आइतवार दिउसो शर्माले महासंघका अध्यक्ष कंडेललाई हस्तान्तरण गरेका थिए ।





