बागलुङ, २० वैशाख– सहि सूचना सम्प्रेसणका लागि पत्रकारलाई प्रविधियुक्त बनाउने अभियान सोमबारदेखि बागलुङमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङले सोमबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर अभियान सुरु गरेको हो ।
‘घर पछिको रहर, सही सूचना प्रविधियुक्त हात, हरेक पत्रकार ल्यापटपका साथ’ अभियान सोमबारदेखि सुरु भएको अध्यक्ष नरेश कँडेलले जानकारी दिए । अभियानको सुरुवात पूर्व अध्यक्ष तथा पदाधिकारीहरुबाट भएको छ । पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा बागलुङका पूर्व अध्यक्ष, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले ५० हजार रुपैयाँ अभियानका लागि उपलव्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
तत्कालिन धौलागिरी शाखाका अध्यक्ष नारायणदत्त कँडेल, पूर्वउपाध्यक्ष दिपक गौतम र साधारण सदस्य श्रीधर कँडेलले ५०/५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, महासंघका अध्यक्ष नरेश कँडेलले कोरोना बिमाबाट प्राप्त बिमांक रकमबाट ५५ हजार ५ सय ५५ रुपैयाँ अभियानका लागि उपलव्ध गराउने घोषणा गरेका छन् ।
अभियानले साढे दुई महिनामा पत्रकारका हात हातमा ल्यापटप पु¥याउने लक्ष लिएको छ । असार २५ गते पत्रकार महासंघ बागलुङको स्थापना दिवसका दिन पहिलो चरणमा पत्रकारहरुलाई ल्यापटप वितरण गर्ने अध्यक्ष कँडेलले बताए । पहिलो चरणमा पत्रकरितासँग सम्बन्धित सरोकारवालालाई अभियानमा जोडिन आग्रह गरिएको कँडेलले बताए ।
बागलुङका १ सय २० जना क्रियाशिल पत्रकारलाई ल्यापटप उपलव्ध गराउने लक्ष रहेको कँडेलले बताए । महासंघले यो अभियान सम्पन्न गर्नका लागि ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
अभियान शुभारम्भ कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जनजीविकाका सवालमा आवाज उठाउने पत्रकारलाई सबैको सहयोग आवश्यक रहेको बताए । अर्का पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारीले महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्नु चुनौती पूर्ण रहेको भन्दै सजग हुन आग्रह गरे । निर्वमान अध्यक्ष दिल शिरिषले पत्रकार स्वतन्त्रताका नाममा स्वनियन्त्रीत भएको आरोप लगाए ।
अध्यक्ष नरेश कँडेलको अध्यक्षता, उपाध्यक्ष नविन शिशिरको स्वागत र सचिव बिजय रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





