बागलुङ, २२ वैशाख– बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाले बुधबार रातीदेखि नगरपालिकाभित्र अत्यावस्यक सेवा बाहेक बन्दाबन्दी गर्ने भएका छन् । कोरोना महामारी थप जटिल बन्दै गएको भन्दै पालिकाका प्रमुखहरुको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।
बरेङमा बुधबार राती १२ बजेदेखि बैशाख ३१ गते गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको गाउँपालिका विपद व्यवस्थापन समितीको बैठकले उक्त निर्णय गरेको हो । वडा नं. ५ सुखौरामा समुदायमा कोरोना संक्रमण देखिएपछि महामारी फैलन नदिन आवश्यक सजगताका लागि कडाई थालिएको अध्यक्ष शर्माले बताए ।
कोरोना संक्रमणबाट बच्न, बचाउन सचेतना फैल्याउने, आफै सजग रहने र अत्यावश्यक सेवाका लागि मात्र घर बाहिर निस्कन गाउँपालिकाले जनस्तरमा अनुरोध गरेको छ । बरेङ बजार बन्द गर्न र सरकारी कार्यालयले अत्यावश्यक सेवामात्र अनलाईनका माध्यमबाट प्रवाह गर्न भनिएको छ । वित्तिय संघ संस्था तथा सहकारीहरुले समेत अत्यावश्यक सरकारी कामको लागि हप्ताको दुई दिन सोमबार र बिहीबार मात्र कार्यालय सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै, जैमिनी नगरपालिकाले एक साता बन्दाबन्दीको अवस्थामा रहन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार राती १२ बजेदेखि अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको हो । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र सबैजना जोखिममा रहेकाले जैमिनी नगरपालिका आरआरटीको बैठकले अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेगरी निर्देशन जारी गरेको हो ।
जैमिनीले नेपाल सरकारले अत्यावश्यक सुचिमा राखेका बाहेक सबै गतिविधि बन्द रहने भनेको छ । यसअघि २० गतेदेखि जैमिनी नगरपालिकामा चल्ने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । निशेधाज्ञा लगाउन भने पालिकाको आग्रहमा प्रशासनले आदेश जारी गर्नुपर्छ ।





