
बागलुङ, २३ वैशाख – कोरोना महामारी भयावह हुनसक्ने भन्दै नागरिक समाज बागलुङले चिन्ता व्यक्त गरेको छ । कोराना संक्रमितकोे उपचार, रोकथाम र नियन्त्रणका लागि भएका कामको सन्दर्भमा बुधबार एक अपिल जारी गर्दै समाजले सरोकारवालालाई जिम्मेबार बन्न ध्यानाकर्षण गराएको छ । जिल्लाका अधिकांश पालिकाहरुमा निषेआज्ञा जारी गरेपनि यसको प्रभावकारिता अति न्यून भएको नागरिक समाजको ठहर छ ।
जोखिम र संकटमा रहेकाले नागरिकको बाँच्न पाउने अधिकार सुरक्षित गर्नको नागरिक समाजको तर्फबाट सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै तत्काल सोही अनुसारको व्यवस्थापन गर्न अपिल गरिएको छ । पालिकाहरुले कोरोनाको जोखिम न्यूनिकरण गर्ने तयारी नगरेको, अलमलमा भएको र जोखिम कोअवस्था गम्भीर हुँदा पनि आइसोलेसन निर्माण नगरेको, स्ुरक्षित तरिकाले नागरिकलाई क्वारेन्टाइनमा नराखेको, कोभिड संकट व्यवस्थापन नगरेको र विद्यालयहरुमा परिक्षा सञ्चालन गरेकोप्रति समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पताल र स्वास्थ्य संस्थाहरुको छिटै क्षमता वृद्धि गर्न,अस्पतालमा आवश्यक शय्या, स्वास्थ्यकर्मी, चिकित्सक र स्वास्थ्य सामग्रीको समयमै व्यवस्था गर्न, स्वाथ्यकर्मीसहितको आइसोलेसनको व्यवस्था गर्न, अक्सिजन तथा भेन्टिलेटर थप्न, रेफरल, एयरलिफ्ट, शववाहन र एम्बुलेन्स तयारी हालतमा राख्ने व्यवस्था मिलाउन, होमक्वारेन्टाइन र होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यक पर्ने देखिए प्रयोगशाला र अस्पतालसँग समन्वय गरी उक्त स्थानसम्म पुर्याउने काममा सहजीकरण गर्नरगराउन, नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण भयावह भइरहेको सन्दर्भमा तत्काल आवश्यकताअनुसार स्थानीय तह, कारागार तथा मानव सेवा आश्रम, बालगृहसमेतबाट स्वाब संकलन गर्ने व्यवस्था मिलाउन अपिलमा माग गरिएको छ ।
समाजले निषेधाज्ञाको समयमा विद्यालयमा परीक्षा सञ्चालन, बैंक तथा वित्तीय संस्था खुला गर्दा समुदायमा कोरोनाको जोखिम बढेको र जिल्ला प्रवेश गर्ने ठाउँमा हेल्प डेस्कको अभाव रहेको जस्ता विषय उठाउँदै सरोकारवालको ध्यानाकर्षण गराएको हो । नागरिकको बाँच्ने र स्वास्थ्योपचार पाउने अधिकार सुरक्षित बनाउन र कोरोना परीक्षण, रोकथाम र नियन्त्रण प्रभावकारी बनाएर भयावह अवस्था आउन नदिन नागरिक समाजले अपिल गरेको छ ।
समाजले धौलागिरि अस्पताललगायत जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त जनशक्तिको व्यवस्थाप नभएको, स्वाब लिने स्थान र जनशक्ति न्यून, स्वास्थ्यकर्मी, चिकित्सक, स्वास्थ्य सामग्री, शय्याको संख्या नबढाइएको, आवश्यक पूर्वाधार तयार नपारिएको, अक्सिजन,आईसीयू,भेन्टिलेटर, एम्बुलेन्स तथा बिरामी बोक्ने गाडीको उचित प्रबन्ध नभएको, शववाहनको व्यवस्था गर्न नसकेको तथा धौलागिरि अस्पतालमा अक्सिजन प्लान्टको मर्मत समयमै नगरिएको भन्दै सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिएको छ ।
आइसोलेसन तथा आश्रय स्थल निर्माण र पीसीआर जाँचसँग सम्बन्धित सामग्रीहरूको उचित संरक्षण नगर्नुका साथै रोकथामका लागि अहिलेसम्म पनि दिगो रणनीति तयार पार्न नसकिएको भन्दै समाजले यस विषयमा गम्भीर समीक्षा गरी भावी रणनीति तयार गर्नुपर्ने सुझाव दिएको छ ।
अपिलमा जिल्लामा क्रियाशिल १६ वटा नागरिक संगठन तथा संस्थाहरुका प्रमुखले हस्ताक्षर गरेका छन् । नागरिक समाजको तर्फबाट अधिवक्ता काजी गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम, नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारी, धौलागिरि सञ्चार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारी, अधिवक्ता राम शर्मा, नेपाल परिवार नियोजन संघ बागलुङका अध्यक्ष निर्माणकुमार श्रेष्ठ, होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, जागरण दैनिकका सम्पादक रामबहादुर जीसी, नेपाल मानवअधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मीदेवी जीसी, अन्तरपार्टी महिला सञ्जाल बागलुङकी अध्यक्ष कुसुम बुढा, इन्सेककी जिल्ला प्रतिनिधि सिर्जना पन्तलगायतले सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।
हेर्नुहोस अपिलको पूर्णपाठ:








