पोखरा, २३ वैशाख– सरकारले कोभिड–१९ का बिरामीहरुलाई ‘होम आइसोलेसन’ अर्थात् घरमा एक्लै बस्न प्रेरित गरिरहेको छ । अस्पतालका बेडहरु भरिएका छन् । बिरामीले खोजेर पनि बेड पाउने अवस्था छैन ।त्यसैले पनि संक्रमितहरु घरमै छन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार हालसम्म गण्डकीमा ३०३१ जनामा संक्रमण पुष्टि भएको छ । सक्रियमध्ये १८०१ जना कास्कीकै छन् । बागलुङमा २७४,स्याङ्जामा २१८,नवलपुरमा २४१,गोरखामा १७४,तनहुँमा १३३,म्याग्दीमा १ सय,पर्वतमा ४१,मुस्ताङमा १७,मनाङमा १४ र लमजुङमा ४ जना संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये २८७४ जना घरमै छन् । घरमा बस्नेहरुबाट संक्रमण परिवार र समुदायमा फैलिने खतरा पनि बढिरहेको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार गैंडाकोटमा बुधबार निधन भएका बृद्ध पनि कोभिड पुष्टि भएपछि घरकै आइसोलेसनमा बसेका थिए । उनी स्वास्थ्यमा बाधा भएपछि मात्रै अस्पताल पुगेका थिए ।




