बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

९ नाउर र ४ झारलको शिकार

९ नाउर र ४ झारलको शिकार


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७८, बिहिबार

बागलुङ, २३ वैशाख– चालु आर्थिक वर्षको दोस्रो शिकार याम चैत–वैशाखमा ढोरपाटन शिकार आरक्षमा ९ नाउर र ४ झारलको शिकार भएको छ ।
लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगेर शिकार गरेका हुन् । शिकारको दोस्रो यामका शिकारीहरुले ९ नाउर र ५ झारल शिकारको अनुमति पाएका थिए । तीमध्ये १ झारलको शिकार हुन नसकेको हो ।
दोस्रो यामको शिकारबाट झण्डै २५ लाख रुपैयाँ राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । यो बर्ष लिलाम बढाबढ गर्दा नाउरको १ लाख ८१ हजारदेखि १ लाख ९५ हजार र झारलको १ लाखसम्म तोकिएको थियो ।
पहिलो शिकार याम असोज–कात्तिक नौ नाउर र पाँच झारलको शिकार अनुमति दिईएको भएपनि कोभिड–१९ महामारीका कारण शिकार हुन सकेको थिएन् । पहिलो याममा १ झारल र १ नाउरको शिकार भएकोमा चालु वर्षको दोस्रो याममा भने लक्षको नजिक शिकार भएको प्रमुख संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कँडेलले बताए ।
आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको छ । शिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि. ललितपुर, हिमालयन वाईल्डलाइफ आउटफिर्टस प्रा.लि, ग्लोबल सफारिज प्रा.लि. ठमेल काठमाण्डौ र हिमालयन सफारिज नक्साल काठमाण्डौमार्फत शिकारी ढोरपाटन पुगेका थिए ।
बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताए । खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुचाउने गरेको उनको भनाई छ । विदेशी शिकारीसहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ ।
दोस्रो याममा अमेरिका, रुस, प्रान्स, युक्रेन र स्पेनका पेशेवर शिकारीले शिकार गरेका हुन् । दोस्रो यामको पहिलो शिकार रुकुम पूर्वको सेङ ‘व्लक’मा चैतको २३ गते १२ वर्षको नाउर मारेर सुरु भएको थियो । अन्तिम शिकार पनि सोही व्लकमा वैशाख ७ गते ८ वर्षको नाउर मारेर सकिएको थियो । शिकार आरक्षमा वर्षेनी विदेशी साहसिक पर्यटक आउने गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ ।
यो वर्ष १८ नाउर र १० झारलको कोटा भएपनि १० नाउर र ५ झारलको मात्र शिकार भएको हो । शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व पनि घट्ने गरेको छ । प्रतिष्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले शिकार गराउने अनुमति पाउने गरेको छ ।
शिकारको दर बढ्दा वार्षिक करोडभन्दा बढी राजश्व उठ्ने गरेको छ । वर्षेनी असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा शिकार खुल्ला गर्ने गरिन्छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । विभागले २०७७ चैत १० गते शिकार अनुज्ञापत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->