बागलुङ, २३ वैशाख– जब अस्पतालमा उपकरण फेर्नुपर्छ, अत्यावस्यक सेवा दिनुपर्छ त्यतिबेला मन्त्रालयबाट पैसा नआएको चर्चा चल्छ ।
अहिले कोरोनाका संक्रमित दिनदिनै बढीरहेको बेला धौलागिरि अस्पतालमा सर्भिसिङ नहुँदा अक्सिजन अभाव हुने चिन्ता बढेको छ । सामाजिक विकास मन्त्रालयले बजेट निकासा नगर्दा खर्चको जोहो गर्न पालिकातर्फ मुख ताक्नुपरेको कोभिड व्यवस्थापन समितिका अध्यक्ष प्रजिअ शिवकुमार कार्कीले बताए ।
अस्पतालमा आइसियु थप्नुपर्ने दबाव पनि छ । संकटका बेला बजेट निकासा नहुने तर आवस्यकता बढी भैरहेकोले खर्चको जोहोबारे समितिमा समेत एजेण्डा बनिरहेको हो । ‘अस्पताल व्यवस्थापनले खर्च अभाव भएको बताएपछि पालिकातर्फ जोहो गर्दैछौं’ कार्कीले भने, ‘निकासामा किन ढीलाई भयो त्यो खोज्न लगाएको छु ।’ बजेट निकासा नभएकोले समितिमार्फत पालिका तहमा हारगुहार गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
श्वास प्रश्वासको समस्या भएका कोरोना संक्रमित बढ्दै जाँदा जुनसुकै बेला अक्सिजन प्लान्ट सर्भिसिङ गर्नुपर्ने मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । अक्सिजन खोज्दै आएका बिरामीलाई सेवा दिन अस्पतालमा उपकरण समेत थप्नुपर्ने भएको हो । सर्भिसिङ अभावमा जुनसुकै बेला अक्सिजन सकिने भएपछि अस्पताल प्रशासन, व्यवस्थापन समिति र चिकित्कसले बिकल्प खोज्न थालेका हुन् ।
डेढ वर्षअघि जडान भएपनि सर्भिसिङको समय भएकोले अक्सिजन कम हुँदै गएको हो । तत्काल सर्भिसिङ नगरेमा जटिल समस्या भएका कोरोनाका बिरामी आउँदा बचाउन नसकिने अवस्था आउने डा. पोखरेलले बताए ।
‘प्लान्ट स्थापना भएपछि अक्सिजन नियमित र पर्याप्त उत्पादन हुन बेला बेला सर्भिसिङ गर्नुपर्छ’ अस्पताल व्यस्थापन समितिका सदस्य शालिकराम शर्माले भने, ‘त्यसका लागि ढीला भए समस्या आउन सक्छ ।’ एक पटकमा ७ देखि ८ लाख रुपैयाँ खर्च गर्दा कम्तिमा ७ महिनासम्म निरन्तर अक्सिजन उत्पादन हुने उनले बताए । छिट्टै अक्सिजन सकिने अवस्थामा पुगेको उनले बताए ।
अस्पतालमा छुट्टै कोष नभएपछि सहयोगको भरमा अत्यावस्यक उपकरण ल्याउनु परेको हो । अस्पतालले आइसियु, डायलायसिस र पीसीआर उपकरणपनि सहयोग जुटाएर जडान गरेको थियो । समितिको बैठकमा अक्सिजन चुनौती हुन सक्ने प्रमुख एजेण्डा बनेपछि सबै पालिका प्रमुख र सुरक्षा निकायका प्रमुखले तत्काल जुटाउन पहल गर्ने सुझाव दिएका छन् । अस्पतालको पूर्वाधार निर्माणाधिन भएपनि आबस्यक पर्दा १ सय जनासम्मलाई अक्सिजन दिएर उपचार गर्न सक्ने योजना डा. पोखरेलले सुनाएपछि प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिले खर्चको जोहो गर्ने आश्वासन समेत दिएका छन् ।
जटिल अवस्था आउन नदिन स्थानीय पालिकाबाट चन्दा उठाएरै भएपनि सर्भिसिङ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । ‘सर्भिसिङ गरेपछि ७ महिना ढुक्क हुन सकिने देखियो’ कार्कीले भने, ‘बागलुङका दश पालिकाले एकएक लाख सहयोग गर्दा समस्या समाधान हुन्छ ।’
अहिले धौलागिरि अस्पतालमा २५ बेड आइसोलेसन छन् । अन्य बिरामीका लागि ५० बेड छन् । जटिल समस्या आएमा ओपिडीको परीक्षण रोकेर सामान्य बेड पनि प्रयोग गर्दा ७५ जनालाई नियमित अक्सिजन प्लान्टबाटै उपचार गर्न सकिन्छ । कोरोनाले श्वासप्रश्वासमा समस्या देखिएकालाई अन्य बिरामीभन्दा हाइ स्पिड अक्सिजन चाहिने चिकित्सकहरुले बताए । सिलिण्डरमा भरेर सेवा दिंदा १ सय जनालाई पुग्ने डा. पोखरेलले बताए । अस्पतालको सी ब्लक बनिसकेपछि भने २ सय बेड क्षमता बनाएर सबैमा अक्सिजन बितरण गर्ने योजना उनले सुनाए ।
बागलुङ नगरपालिकाले रात्माटामा रहेको आफ्नो पुरानो भवन सरसफाइ गरेर २५ बेड क्षमताको आइसोलेसन बनाउन लागेको छ । धौलागिरि बहुमुखी क्याम्पससँग पनि छलफल भएकोले प्रयोगमा ल्याउन सकेमा १ सयबढी बेड आइसोलेसन सदरमुकाममै तयार हुने कार्कीले जानकारी दिए । चिकित्सकले तत्काल सेवा दिन सक्ने स्थानमा मात्रै आइसोलेसन बनाउने योजनामा समितिले काम गरिरहेको हो ।





