बागलुङ, २४ वैशाख– प्रशासनले निशेधाज्ञा लगाएकोले उच्च अदालत र जिल्ला अदालतमा नियमित इजलास नबस्ने भएका छन् ।
दश दिनसम्म चल्ने निशेधाज्ञाको समयमा भीड नगर्ने र कोरोना संक्रमणको चेन ब्रेक गर्ने लक्षले अदालतमा पनि इजलास नराख्ने निर्णय भएको हो । सोमबार बसेको बार बेन्च बैठकले उक्त निर्णय गरेको जिल्ला अदालत बागलुङका न्यायाधिस वासुदेव न्यौपानेले बताए ।
उच्च अदालत बागलुङका न्यायाधिस, जिल्ला न्यायाधिस, बारका पदाधिकारी लगायतको बैठकले अत्यावस्यक सेवाबाहेक निशेधाज्ञा अवधिभर सेवा प्रवाह रोक्ने निर्णय गरेका हुन् ।
निशेधाज्ञाको समयमा पक्राउ पुर्जी जारी गर्ने, म्याद थप्ने, अभियोगपत्र दर्ता गर्ने र थुनछेकका काम हुने बताइएको छ । त्यस्तै बन्दीप्रत्यक्षीकरणको काम भने रोक्न नमिल्ने भएकोले अनिवार्य संचालन हुने समेत न्यौपानेले जानकारी दिए ।
थोरै मानिस आएर मिलापत्र गर्न चाहेको अबस्थामा मिलापत्र गराउने, बालबालिका र हिंसा पीडितको बिषयका मुद्दा आएमा भने अदालतमा सुनुवाइ हुने बताइएको छ । नियमित कामकारवाहीको रुपमा प्रशासनिक काम, साछी वकपत्र गराउने जस्ता काम भने नहुने बार एसोसिएसन बागलुङका अध्यक्ष हरिप्रसाद शर्माले बताए । अदालतमा दैनिक इजलास बस्दा धेरै मानिस आउनुपर्ने बाध्यता हुन्छ । दुइपक्षका मानिस, साछी वकाउने र उनीहरुका आफन्त समेत आउँदा भीड हुने भएपछि निशेधाज्ञाको उलंघन हुने र संक्रमणबाट पनि जोखिम हुने भएपछि यो निर्णया पुगेको सहभागिले बताए । उच्च अदालतले पनि बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्रै हेर्ने बताइएको छ ।
बागलुङ जिल्ला अदालतमा दैनिक ५ वटा सम्म इजलास बस्ने गरेको थियो । त्यस्तै साछी वकपत्र गराउने, मुद्दाका झगडिया झिकाउने लगायतका कारणले भिड हुने गथ्र्यो । केही समय अघि जिल्ला प्रहरी कार्यालयमा राखिएका थुनुवामा पनि कोरोना संक्रमण देखिएकोले उनीहरुलाई समेत आइसोलेसनमा राखिएको छ । त्यसैले कतिपय मुद्दा तत्काल रोक्नुपरेको थियो । एकसाता अघिदेखिनै जिल्ला अदालतले भीड नगर्ने गरी कतिपय मुद्दा हेरेको थिएन । अधिवक्ताहरुलेपनि थोरै मानिस उपस्थित हुने मुद्दामा मात्रै काम गर्दै आएको अधिवक्ता राम शर्माले बताए ।
यसैबीच, मंगलबारदेखि बागलुङका अधिकांस सरकारी कार्यालय पनि आंशिक रुपमा मात्रै खुलेकाछन् । अत्यावस्यक सेवा दिनुपर्ने बाहेकका कार्यालयमा प्रमुख सहितका थोरै जनशक्तीले मात्रै काम गर्ने व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल बिकले बताए ।
देशभर लकडाउन नभएकोले कतिपय कार्यालय भने खोल्नैपर्ने बाध्यताका हुन्छन् । सुरक्षा निकाय, जिल्ला प्रशासन जस्ता कार्यालय भने नियमित खोलिएकाछन् । त्यसबाहेक खानेपानी, स्वास्थ्य संस्था, अस्पताल, दमकल, एम्बुलेन्स, प्रेस तथा संचार माध्यमका कार्यालय भने नियमित चल्ने बताइएको छ ।





