बागलुङ, २४ वैशाख– बागलुङ नगरपालिकाले रात्माटास्थित पुरानो कार्यालय भवनमा ३५ बेड क्षमताको आइसोलेसन तयारी गरेको छ ।
धौलागिरि अस्पतालमा २५ बेड मात्रै रहेको र जटिल बिरामीलाई मात्र उपयुक्त भएकोले नगरपालिकाले आइसोलेसन थपेको नगर स्वास्थय शाखाका प्रमुख रामप्रसाद खनालले बताए । ती बेडका लागि अक्सिजनको व्यवस्था गरिएको उनले बताए ।
लामो समयसम्म स्थानीय पालिकाले बेड नबनाएको गुनासो आइरहेको बेला बागलुङ नगरपालिकाले काम थालेको हो । नगरप्रमुख जनकराज पौडेलले निर्माणाधिन बेडमा स्वास्थ्यकर्मी र अन्य सुविधा थप गर्न गण्डकी प्रदेश सरकारमा अनुरोध गर्ने बताए । स्थानीय श्रोतले भेटेसम्म काम गर्ने र नभएमा प्रदेश सरकारबाट पनि सहयोग जुटाउने पौडेलले जानकारी दिए । पौडेलका अनुसार नगर स्वास्थ्य शाखामा पनि स्वास्थ्यकर्मीको दरबन्दी अभाव छ । दरबन्दी थपेर भएपनि सेवा चुस्त बनाउने योजना बनाइएको हो ।
नगर स्वास्थ्य प्रमुख खनालले भने बाहिरबाट आउनेका लागि होल्डिङ सेन्टर निर्माण सुरु भएको बताए । बानपा १ को रामरेखामा होल्डिङ सेन्टर राखेपछि शंकास्पद मानिसलाई सोझै घर घरमा जान नदिने योजना उनले सुनाए । संक्रमणको दर तीब्र भएकोले उक्त योजनाले संक्रमण नियन्त्रणमा साथ मिल्ने उनको भनाई छ ।
सुरुवातमा सुस्त भएपनि बागलुङका अन्य पालिकाले पनि आइसोलेसन बढाउन थालेका छन् । ताराखोला गाउँपालिकाले १५ बेडको आइसोलेसन बनाइसकेको स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । बडिगाड गाउँपालिकाले स्थानीय स्वास्थ्य संस्थामै १५ बेड आइसोलेसन बनाएको हो । तमानखोला, निसीखोला, बरेङ लगायतले पनि आइसोलेसन बनाएका छन् ।





