बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अक्सिजन अभाव हुन नदिन सिलिण्डर संकलन

अक्सिजन अभाव हुन नदिन सिलिण्डर संकलन


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७८, शनिबार

बागलुङ, २५ वैशाख– अस्पतालमा अक्सिजन सिलिण्डरको अभावमा बिरामीको उपचार प्रभावित हुन नदिनको जिल्ला प्रशासन कार्यालयले निजी क्षेत्र तथा प्रतिष्ठानहरुमा रहेका सिलिण्डर संकलन गरेको छ ।
गृह मन्त्रालयको निर्देशमा प्रहरी र प्रशासनका कर्मचारीको सहयोगमा सिलिण्डर संकलन गरिएको हो । बागलुङमा एक सय बढी सिलिण्डर संकलन भएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए ।
प्रशासनले संकलन गरेका सिलिण्डरमध्ये ४४ वटा सिलिण्डर धौलागिरी अस्पतालमै प्रयोगमा रहेकाहुन भने बाँकी यहाँका निजी क्षेत्र तथा प्रतिष्ठानहरुले व्यवसायीक प्रयोजनमा लगाएका सिलिण्डर हुन् । बिरामीले अक्सिजन नपाएको समाचार सार्वजनिक हुँदै गर्दा प्रशासनले सक्रियता देखाएको हो ।
‘गृहको निर्देशनपछि हामीले प्रयोगविहीन सिलिण्डरको खोजी थालेका हौं, यहाँका व्यवसायीले निकै सौहार्दपूर्ण वातावरणमा सिलिण्डर दिनुभएको छ’ कार्कीले भने ‘हामीले नमिठो बोल्नै परेन, काम सकिएपछि फिर्ता गर्ने दोहोरो सम्झौता गरेर लिएका छौं ।’
उक्त सिलिण्डरमध्ये जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार तत्काल अत्यावश्यक रहेका अस्पताल तथा आईसोलेसन कक्षका लागि उपलव्ध गराईने छ । सिलिण्डरमा अक्सिजन भर्नु पूर्व सफाईका लागि पोखरा पठाउने तयारी छ ।
‘रिफिलिङ गरेर मात्रै अक्सिजन भर्ने काम हुन्छ, अभाव टार्न हामी तल्लिन छौं ।’ कार्कीले भने । बागलुङका केही निजी अस्पताल, यहाँ सञ्चालनमा रहेका ग्यारेज, केही ठुला मेसिनका मर्मत केन्द्रबाट सिलिण्डर लिईएको हो । धौलागिरी अस्पतालको अक्सिजन प्लान्ट समयमा मर्मत नहुँदा अक्सिजन खेरगैरहेको र बिरामी बढ्दै जाँदा अक्सिजनको अभाव हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए ।
‘अहिलेको अवस्थामा उपलव्ध सिलिण्डरले पुग्ला भन्ने लागेको छ’ कार्कीले भने ‘थप आवश्यक पर्ने अवस्थामा तालुक निकायमा माग गरिरहेका छौं ।’ धौलागिरी अस्पतालको २५ शैयाको आईसोलेसनमा कोभिड–१९ संक्रमितको अक्सिजन लगाएर उपचार भैरहेको छ । बागलुङ नगरपालिकाले ३५ र ताराखोला गाउँपालिकाले १५ शैयाको अक्सिजन सहितको आईसोलेसन तयार पारेकाले त्यहाँ समेत अक्सिजनको अवश्यकता पर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->