
बागलुङ, २५ वैशाख– बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । भीमसेन प्राथमिक विद्यालयको भवनमा आवश्यक पूर्वाधार निर्माण गरेर दश शैयाको अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो ।
कोरोना महामारीको पहिलो लहरका बेला क्वारेन्टाईन हुँदै अस्थायी अस्पतालमा विकास गरिएको भीमसेन प्रावि बिहुँको भवनमा दोस्रो लहर सुरु भएपछि अस्पताल सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र लामाले बताए । अक्सिजनको व्यवस्थापन गरेर अस्पताललाई थप व्यवस्थित बनाउने तयारीमा स्वास्थ्य शाखा लागेको छ ।
संक्रमणको दर बढ्दै गएको र धौलागिरी अस्पतालमा शैया अभाव भएको खबर सार्वजनिक भैरहेका बेला गाउँपालिकाले अस्थायी अस्पताल बनाएको हो । तीन जना नर्स, एक जना जनस्वास्थ्य अधिकृत र एक जना कार्यालय सहयोगी अस्पतालमा खटाईएको छ ।
‘हामीले करारमा मेडिकल अधिकृत माग गर्दा समेत कोही आएनन्’ लामाले भने ‘म आँफै र मौजुदा जनशक्ति खटाएर अस्पताल सञ्चालन गरेका छौं ।’





