बागलुङ, २६ वैशाख– नेपाल सरकारले गत बर्षको बजेटमै धौलागिरि अस्पताललाई २ सय बेड क्षमताको बनाउने घोषणा गरेको थियो । तर अहिलेसम्म त्यो नीति कार्यान्वयनमा आएको छैन ।
मन्त्रालय तहबाट झण्डै एक सय बेड अस्पतालका लागि आइसकेका छन् । ती बेड अस्पतालको स्टोरमा थन्केका छन् । अहिले अस्पतालमा धेरै बिरामी आउन खोज्दा बेड नपाएर फर्कनु परेको छ । अधिकांस घर घरमै छन् ।
यो समस्याका पछाडि बेड जडान नहुनु मात्रै नभएर अस्पतालको भवन बनिनसक्नु प्रमुख कारण भएको छ । धौलागिरि अस्पतालको आइसोलेसनमा आउन दैनिक कोरोना संक्रमितका आफन्तले खोजी गरेपनि ठाउँ नपाएर पर्केका छन् । काठमाण्डौमा बेड नपाएर यहाँ आइरहेकोले अस्पताल भरिभराउ छ । शनिबार अस्पतालमा २८ जना जटिल समस्या भएका संक्रमित छन् भने अरु सबै घर घरमा बसेका छन् ।
सिमित बेडमा जटिल समस्या भएकालाई मात्रै राखेर उपचार गर्नुपरेपछि सामान्य बिरामीलाई घरमै बस्न लगाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । निर्माणाधिन ‘सि ब्लक’ अलपत्र परेकोले ती बेड जडान गर्न नसकिएको हो । बेड स्टोरमा थन्किंदा बिरामी भने घरमा बस्न बाध्य छन् ।
६ बर्षअघि सकिनुपर्ने अस्पताल अलपत्रै परेपछि ल्याएका बेड स्टोरमा थन्क्याउनु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । ठाउँ बेड स्टोरभित्रै माकुराको जालोले घेरिएको रानाले बताए । उनले भवन बनाउने ठेकेदार अझै देख्न नपाएको टिप्पणी समेत गरे । निर्माणाधिन भवनको भुईतला वा छतमा व्यवस्थापन गरेर बेड राख्न खोज्दा लाखौं खर्च लाग्ने भएपछि छाडेको उनले बताए ।
ठेकेदारलाई पटक पटक सम्पर्क गरेपनि काम अलपत्र छाड्ने गरेको उनले टिप्पणी गरे । ६ बर्षअघि सक्नेगरी मिलेनियम बिल्डर्स निर्माण सेवाले भवनको ठेक्का लिएको थियो । तर अहिलेसम्म काम नसकेको हो । अघिल्लो बर्ष अस्पताल व्यवस्थापनले हस्तान्तरण नभएको बी ब्लक आफ्नै खर्चमा मर्मत गरेर चलाएको थियो । सी ब्लकका लागि भने लाखौं खर्च गर्नुपर्ने भएपछि व्यवस्थापनले हस्तक्षेप समेत गर्न नसकेको रानाले बताए ।
ठेकेदार कम्पनीका प्रमुख शिव ढकालले तीन बर्षअघिको असार मसान्तमा सक्ने आश्वासन दिएपनि अहिलेसम्म अलपत्रै परेको हो । धौलागिरि अस्पतालमा अहिले ५० बेड मात्रै छन् । ती पनि सबै आइसोलेसन होइनन् । ‘ठेकेदारले नयाँ भवन हस्तान्तरण नगरेसम्म स्टोर पनि खाली गर्न नसकिने भयो’ डा. पोखरेलले भने, ‘जटिल बिरामीलाई समेत बेड अभाव भएको छ, आइसोलेसन बढाउने योजना पुरा गर्न सकिएन ।’
बागलुङमा शनिबारसम्म ३ सय १७ बढी सक्रिय संक्रमित छन् । तीमध्ये अधिकांस होम आइसोलेसनमा छन् । समस्या परेर आउन खोज्नेलाई समेत बेड नभएर घरमै बस्न भनिएको उनले बताए ।
अस्पतालमा प्रसुती, डायलायसिस, दन्तसेवा, ल्याब लगायतका लागि झण्डै २५ बेड चाहिन्छ । प्रयोगमा ल्याउन नपाएर वार्डमा पनि चाहेजति बिरामी राख्न नसकेको पोखरेलले गुनासो गरे । ‘संक्रमणको जोखिमको बेला वार्डहरु साँघुरा भएका छन्, त्यसैले राख्नैपर्ने कतिपय बिरामी फिर्ता गर्नुपरेको छ’ पोखरेलले भने, ‘अक्सिजन बिस्तार गर्न पनि पाइएको छैन ।’ अक्सिजन प्लान्ट भएपनि सी ब्लक नबनेपछि बिस्तार गर्न नसकेको उनले बताए । सर्भिसिङ नियमित गरेमा १ सयबढी बेडमा नियमित अक्सिजन दिनेगरी प्लान्ट निर्माण भएको हो ।





