बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुस्तायो बागलुङको पर्यटन

सुस्तायो बागलुङको पर्यटन


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७८, आइतबार

बागलुङ, २६ वैशाख– चैत्राष्टमीको केही दिनअघि नवलपुर उद्योग वाणिज्य संघको समुह बागलुङका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्कियो । त्रिवेणीधामबाट सुरु भएको यात्रा मुक्तिनाथ पुगेर फर्किएपछि सकियो । झण्डै एक साताको यात्रामा निस्किएको समुहले एक दिन बागलुङमा बितायो । बागलुङको कालिका मन्दिर, संसारकै लामो पुल, शालिग्राम संग्राहलय, पञ्चकोट लगायतका पर्यटकीय स्थलमा पुग्न समुहले छुटाएन ।
वैशाख ७ गते चैतेदशैंका दिन बागलुङ कालिका भगवतीको मन्दिरमा झण्डै १५ हजार दर्शनार्थी पुगेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का बताउँछन् । सोही दिन लामो पुल र पञ्चकोटमा पनि आन्तरिक पर्यटकको घुईंचो थियो । कोरोना महामारी सुरु भएको झण्डै एक वर्षपछि बागलुङका धार्मिक तथा पर्यटकीय स्थलहरुमा चहलपहल सुरु भएको थियो ।
चहलपहल सुरु भएको केही समयमै कोरोना महामारीको दोस्रो लहरले बागलुङका पर्यटकीय क्षेत्र पुनः सुस्ताएका छन् । दिनमै हजार बढी आन्तरिक पर्यटक पुग्ने पञ्चकोटमा अहिले कठिनले एक सय जना त्यहाँ पुग्छन् । लामो पुलमा ओहोरदोहोर गर्नेको संख्या निकै घटेको छभने बलेवाको बञ्जी र बलेवा कालभैरवको पुजाआजाका लागि पुग्नेहरु देखिनै छाडेका छन् ।
यहाँका मठमन्दीर प्रवेशमा रोक लगाईएको छ । महामारी र बन्दाबन्दीको मारमा परेका साना–ठूला होटल पाहुनाले भरिभराउ हुँदै थिए । कोरोनाले थलिएर धीमा गतिमा चलेको बागलुङको पर्यटनले लय समात्ने होटल व्यवसायीमा आशा जगाएको थियो । तर, एक महिना नबित्दै पर्यटकको संख्या ओरालो लागेको छ ।
कोरोना महामारी तीव्र गतिमा फैलिएपछि बागलुङका पर्यटकीय स्थलहरु पुनः सुनसान हुन थालेका छन् । पोखरा, काठमाडौंलगायतका ठूला सहरमा लगाइएको आंशिक र पूर्ण निषेधाज्ञाको प्रभावले बागलुङका पर्यटकीय स्थलमा असर मात्रै गरेको छैन् बागलुङमै देखिएका संक्रमितका कारण पर्यटन क्षेत्रमा उथलपुथल ल्याएको पर्यटन बिकास समिति बागलुङका अध्यक्ष राजु खड्का बताउँछन् ।
पछिल्लो साता बागलुङ घुम्न आउने पर्यटकको संख्या ह्वात्तै घटेको खड्काले बताउनुभयो । उहाँका अनुसार फाट्टफुट्ट पर्यटक घुम्न आएका छन् । होटलमा बास बस्ने गरी आउने कमै छन् । ‘नयाँ वर्षमा सोचेभन्दा बढी पर्यटक आएका थिए । त्यतिबेलाको चहलपहल देख्दा सुस्ताएको पर्यटनले लय समात्छ भन्ने आश थियो’, उनले भने, ‘कोरोनाको संक्रमण फेरि देखिन थालेपछि अहिले सुनसान बढ्दै छ ।’
असोजबाट पर्यटन व्यवसाय खुल्न थाल्यो । उत्साहजनक रूपमा पाहुना नआए पनि विस्तारै पाहुना बढ्दो क्रममा थिए । यहाँका यातायात व्यवसायीलाई पनि निकै आशा थियो । महामारीको दोस्रो लहर चलेपछि यातायत क्षेत्रमा समेत ठूलो असर परेको ट्याक्सी व्यवसायी कमल गाउँले बताउँछन्् ।
‘बागलुङमा साना सवारीका लागि यहाँका धार्मिक तथा पर्यटकीय स्थल मुख्य स्रोत हुन्’, यातायात व्यवसायी गाउँले भन्छन्, ‘छोटो दुरीका सवारी समेत चल्न छोडेकाले हामी निकै मारमा छौं, दिनभर कुर्दा एक दुई जना यात्रु पाउन मुस्किल छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->