बागलुङ, २६ वैशाख– ‘बेलौंती (अम्बा)को पात त हामीसँग प्रसस्तै छ नि ! तातोपानीमा हलुका नुन, काँचो बेसार मिसाएर कुल्ला गर्दा त्यसको फाइदा धेरै हुन्छ’, धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डाक्टर सरोजकुमार रायले ढोरपाटनसँग कुरा गर्दै भने, ‘हामीसँग प्रशस्त जडिबुटी छन्, प्रमाणित औषधि त होइनन् तर प्रतिरक्षात्मक काम गर्छन् भन्ने कुरा प्रयोगले सिद्ध गरेको छ ।’
बेलौंतीको पात खस्रो गुण भएको हुन्छ । कोरोना भाइरसको बासस्थान ¥यालमा हुन्छ । खस्रो गुण भएको बेलांैतीले कुल्ला गर्नाले मुख, नाक वा घाँटीमा भाइरसको बासस्थान रहेका ठाउँहरु नष्ट गर्न सहयोग पुग्ने भएकाले यो उपयोगी रहेको डाक्टर राय जिकिर गर्छन् ।
‘कुल्ला गर्नु गाइडलाइनले पनि भनेको छ’, उनले भने ‘बासस्थान मास्न सके भाइरसले थप असर गर्दैन ।’ आयुर्वेदले शास्त्रीय औषधिहरुको प्रयोग गर्छ । सयौं वर्षदेखि प्रयोगमा रहेका औषधिहरुको खोजी महामारीको समयमा धेरै हुने गरेको दमेक आयुर्वेद औषधालय जैमिनी नगरपालिका २, दमेकका प्रमुख डा. लक्ष्मी प्रसाद शर्माले बताए ।
कोरोना फैलिँदै गर्दा बागलुङमा आयुर्वेदिक चिकित्सा विधिमा सर्वसाधारणको चासो बढेको छ । बागलुङ बजार, दमेक, जैमिनीको बेलबगर, काठेखोला गाउँपालिकाको बिहुँ र ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा रहेको औषधालयमा सर्वसाधारण आयुर्वेदिक औषधि र सल्लाहका लागि पुग्ने गरेका छन् ।
‘गुर्जोको निकै प्रचार भयो, खोज्न आउनेहरु धेरै भए’, डा. शर्मा भन्छन् ‘हामीले प्रतिरक्षात्मक क्षमता बढाउने उपाय र औषधिहरु दिने गरेका छौं ।’ दमेक आयुर्वेद औषधालयले स्थानीय स्तरमै गुर्जोको खोजी र वितरण समेत गर्ने गरेको छ । जैमिनीका अधिकांश ठाउँमा बस्ती नजिकैका जंगलमा गुर्जो पाइन्छ । अपुग भएको औषधालयले बाहिरबाट खरिद गरेर उपलव्ध गराउने शर्माले बताए ।
शास्त्रीय औषधिलाई विभिन्न २० गुणमा विभाजन गरिएको छ । आयुर्वेदका २० गुणमध्ये रुक्षे गुण भएका औषधिहरुको प्रयोग बढाउँदा भाइरसको संक्रमण रोकथाममा सहयोग पुग्ने शर्मा बताउँछन् । असोकागन्धा चुर्ण, एसपी मधु, गुर्जोलगायतका औषधिय गुण भएका जडिबुटीहरु औषधालयले उपलव्ध गराउँछन् । यो औषधालयले अन्य रोगहरुका लागि उपयोगी हुने झण्डै १ सय २० प्रकारका शास्त्रीय औषधि उत्पादन समेत गर्ने गरेको छ ।
‘पहिलो चरणको महामारीमा हामीले गिलोय चुर्ण र च्यवनप्रास क्वारेण्टिनमा बसेकालाई वितरण गरेका थियौं, हाम्रो नगरमा आइसोलेसनमा बसेकालाई मान्छे गणना गरेरै औषधि उपलव्ध गरायौं’, डा. शर्मा भन्छन् ‘अहिले पनि कार्यालयमा खोज्न आउने र फोनबाट जानकारी लिने धेरै छन् ।’ घाँटी खसखस गर्दा वा शंका लागेमा चिकित्सकको सल्लाह लिएर कुल्ला गर्ने विधि अपनाउन शर्माले आग्रह समेत गरे ।
सदरमुकाममा रहेको औषधालयले नियमित योगाभ्यास गराउने गरेको थियो । भाइरसको संक्रमणबाट बच्न र संक्रमणपछि शरीरको प्रतिरक्षात्मक क्षमता बढाउन योगले सहयोग गर्ने डा. राय बताउँछन् । योगमा सर्वसाधारणको चासो भएपनि अहिले औषधालयले भर्चुअल माध्यामबाट योगको अभ्यास गराउन सिकाउने गरेको छ । ‘हामी बिरामीको साथमै रहेर सहयोग गर्न चाहन्छौं, हरेक दिन बिहान ५ः३० बजे जुम मिटिङ एपमार्फत् चाहना भएकालाई योगाभ्यास गराईरहेका छौं’ डा. रायले भने ।





