बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङका अध्यक्ष र उपाध्यक्षको सवारी कोभिड नियन्त्रणमा प्रयोग हुने

बरेङका अध्यक्ष र उपाध्यक्षको सवारी कोभिड नियन्त्रणमा प्रयोग हुने


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७८, आइतबार

बागलुङ, २६ वैशाख– बरेङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने सवारी कोरोना महामारी नियन्त्रणका लागि प्रयोगमा ल्याईने भएको छ । अध्यक्ष कृष्ण प्रसाद शर्मा र उपाध्यक्ष डिलकुमारी पुन चढ्ने गरेका दुवै सवारी कोरोनाका बिरामी बोक्ने एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याईने भएको हो ।
नागरिकको जीवनरक्षा नै पालिकाको पहिलो प्राथमिकता भएको भन्दै गाउँपालिकासँग रहेका सबै सवारी साधन महामारीको अवधिभर एम्बुलेन्सको रुपमा सञ्चालन गर्न लागिएको अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । बिहानी बहुउद्देश्यीय सहकारी संस्था बरेङले सञ्चालन गरेको एम्बुलेन्ससमेत कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ ।
गाउँपालिकाको विपद व्यवस्थापन समितीेको बैठकले अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित एम्बुलेन्स कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय गरेको हो । कोभिड–१९ संक्रमणले निम्त्याएको आपतकालको बेलामा नागरिकको जीवनरक्षा नै गाउँपालिकाको पहिलो प्राथमिकता भएको शर्माले बताए । ‘पहिला आफ्ना नगरिकलाई सुरक्षित बनाऔं र बचाऔं, अनि चढौंला गाडी’ शर्माले भने ‘आवश्यकता अनुसार अन्य सवारीको व्यवस्था समेत गाउँपालिकाले गर्नेछ ।’
प्रत्येक वडामा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको गाउँपालिकाले जनाएको छ । प्रत्येक वडामा तीन शैयाको प्रि–आईसोलेसनको तयारी गाउँपालिकाले थालेको छ । गाउँपालिकाले अक्सिजन सिलिण्डरसहितको आइसोलेशन कक्ष स्थापना गरेको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनका अनुसार पालिकाको हुग्दिशीर स्वास्थचौकी बरेङमा डा. लक्ष्मी पन्थीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीहरु रहने गरी पाँच शैयाको आईसोलेसन कक्ष तयार भएको हो । पाँचै शैयामा अक्सिजनको व्यवस्थापन गरिएको पुनले बताए ।
आइसोलेशन कक्षमा बिरामीहरुको सुबिधाको लागि ईन्टरनेटको सुबिधा पनि व्यवस्थापन गरिएको छ । बिरामी चापको अवस्था हेरी पालिकाको वडा नं. ३ बाटाकाचौरको नयाँबजारमा पनि अक्सिजनसहितको आइसोलेशन कक्ष थप्ने तयारी रहेको पुनले बताए ।
विद्यालयका प्रधानाध्यापकहरुलाई संयोजक तोकेर वडा र टोलमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने, एफ.एम. रेडियोद्वारा हेल्लो कोभिड, प्रत्येक वडामा रहेका विपद व्यवस्थापन समिती पनि क्रियाशिल रहने गरी कोरोना नियन्त्रणमा जुटेको गाउँपालिका अध्यक्ष शर्माले बताए । गाउँपालिकाले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका चालु वर्षमा ५० लाख रुपैंयाँ वजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->