बागलुङ, २६ वैशाख – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको गठबन्धन सरकारलाई आफ्नो पार्टीको समर्थन रहने बताएका छन् ।
ढोरपाटनसंग टेलिफोनमा कुरा गर्द अध्यक्ष केसीले आफ्नो पार्टील्े विगतमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै अब विपक्षी गठबन्धनलाई नयाँ सरकार गठनमा साथ दिने बताए ।
‘एमालेको षडयन्त्र के छ उनीहरु नै जानुन् तर त्यो सरकारलाई हाम्रो समर्थन रहँदैन,’ केसीले भने, ‘जसरी अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने भनेका थियौं, त्यसरी नै अब नयाँ सरकार गठनमा समर्थन रहन्छ ।’
मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दर्ता गरेको अविश्वास प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ ।
६० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, माओवादीका १२ र जनता समाजवादीका २ जना सांसद छन् । नेकपा एमालेका २७ सांसद छन् । हालै मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङेले पनि एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने पत्र आजै संसद सचिवालयमा पठाएका थिए ।
गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमार्चाको ३ मत छ । उसले जता समर्थन गर्छ उसैको बहुमत पुग्ने छ । जनमोर्चाका सचेतक पियारी थापाले अब फेरि गुरुङको नेतृत्वमै सरकार बन्ने सम्भावना नरहेका वताउदै नयाँ गठवन्धनको सरकार बन्ने बताइन् ।





