शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अक्सिजन सिलिण्डरको खोजी अभियान

अक्सिजन सिलिण्डरको खोजी अभियान


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २७ २०७८, सोमबार

बागलुङ, २७ वैशाख– बागलुङका मोटर ग्यारेज र व्यक्तिका घर घरमा रहेका अक्सिजनका सिलिण्डरहरुको खोजी कार्य सुरु भएको छ ।
बागलुङ नगर स्वास्थ्य शाखासहित जिल्लाभरका स्वास्थ्य कार्यालयले खोजी कार्य अगाडि बढाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । सबैभन्दा बढी सिलिण्डर बागलुङ बजारका ग्यारेजमा भेटिएको छ ।
अस्पतालमा रहेका ५० वटा सिलिण्डरबाहेक ६० वटा थप भेटिएपनि अस्पतालका लागि १ सय १० वटा पुगेको जनस्वास्थ्य निरिक्षक दिनेश जिसीले बताए । ‘हामीले खोजी अभियान जारी राखेका छौं, भरपाई गरेर नगरपालिकाले ल्याएको छ’ मोटर ग्यारेज अहिले चलेका छैनन्, अस्पतालमा आवस्यक छ त्यसैले संकलन गरेका हौ ।’ बागलुङ बजारबाहेक गलकोट, बुर्तिवाङ लगायतका बजारमा पनि छिटफुट रहेका अक्सिजनका सिलिण्डर खोज्ने काम भएको हो ।
धौलागिरि अस्पतालमा कोरोनाका जटिल संक्रमितहरु बढीरहेका छन् । दैनिक बेड भरिएकोले अक्सिजन समेत चाहिएको हो । अस्पतालभित्रका २५ बेडमा प्लान्टको अक्सिजन वितरण भएपनि बाँकी बेड र रात्माटास्थित आइसोलेसन केन्द्रमा अक्सिजनको आवस्यकता बढेको हो । शनिबार बेलुकीनै केही संक्रमितलाई रात्माटा लगेर भर्ना गरिएको छ । संक्रमितहरु घर घरमा बसेपनि जुनसुकै बेला समस्या थपिएर आउने अबस्था भएपछि सिलिण्डरको जोहो गराइएको नगरस्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
कोरोनाको संक्रमण भएर श्वासप्रश्वासमा समस्या भएका मानिसलाई धेरै अक्सिजन चाहिने भएकोले यो बेला बढी खोजी भएको हो । सामान्य बिरामीलाई ७ घण्टा पुग्ने अक्सिजन सिलिण्डर कोरोनाका संक्रमितलाई २ देखि ३ घण्टामै सकिने गरेको चिकित्सकहरुले बताए । शनिवार बिहान पनि धौलागिरि अस्पतालमा २५ वटा सिलिण्डर सकिएपछि भर्नका लागि पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
अस्पतालमा जडान भएको प्लान्टमा कम्प्रेसर मेसिन नभएकोले सिलिण्डरमा भर्ने व्यवस्था छैन । अक्सिजन प्लान्टको सर्भिसिङ समेत नभएर आपूर्ति ठप्प हुने बेला आएको छ । यो जटिल समस्यामा तत्काल सहयोज जुटाएर दुवै काम गर्ने योजना बनाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए । उनले गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालयमा बजेट माग गरिरहेको बताए । अस्पतालका चिकित्सकका अनुसार कम्प्रेसर मेसिन ल्याएर संचालन गर्ने तथा अक्सिजन भर्ने कामका लागि तत्काल २० लाख बजेट भएमा संभवन हुनेछ ।
अघिल्ला बर्षझै सुरुवातमै आइसोलेसन नबनेपनि पालिका तहमा पनि अक्सिजन सहितको मात्रै बनाउने क्रम सुरु भएको छ । ताराखोला गाउँपालिकामा निर्माण भएको १५ बेडमध्ये २ वटा अटोमेटिक कन्सल्ट्यान्ट मेसिन राखिएको स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । ताराखोलामा आइतवारसम्म ३० जनाबढी होमआइसोलेसनमा छन् । बडिगाड गाउँपालिकामा १० वटा अक्सिजनसहितको आइसोलेसन बनाइएको छ । २ वटा यसअघिनै ल्याएका मेसिनबाहेक ५ वटा खरिदको प्रक्रिया थालिएको हो ।
बरेङले पनि २ वटा अक्सिजनको सिलिण्डर व्यवस्थापन गराएको छ । तमानखोला र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पनि अक्सिजनसहितको व्यवस्थापन भैरहेको स्वास्थ्यकर्मीले बताएका छन् । ‘अहिले जोड्ने पूर्वाधारले पछिसम्म काम गर्नेछ’ स्वास्थ्य शाखा प्रमुख घनश्याम शर्माले भने, ‘नगरपालिकाले बजेट बिनियोजन गरेको छ, नीजि संस्थामा भेटिएका अक्सिजन सिलिण्डर पनि खोजी भैरहेको छ ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->