बागलुङ, २७ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बागलुङका डा. हरिप्रसाद पौडेल सिफारिस भएका छन् ।
मन्त्रीपरिषदले आइतवार बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका पौडेललाई आयोगको आयुक्तमा सिफरिस गरेको हो । २०४३ सालमा निजामती सेवामा प्रवेश गरेर ३४ बर्ष सम्म निजामती सेवामा बिताएका पौडेल नेपाल सरकारको पूर्व सचिव हुन् । राष्ट्रपति कार्यालय, मन्त्रीपरिषदको कार्यालय, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय लगायतमा कार्यरत थिए ।
नर्वेको बर्गेन विश्वविद्यालयबाट जनप्रशासनमा एमफिल तथा जर्मनीको बोन विश्वविद्यालयबाट विकास अध्ययनमा पिएचडि गरेका पौडेलले अमेरिका सरकारको प्रतिष्ठित फुलब्राइट स्कलरसीप समेत पाएका थिए । सार्वजनिक प्रशासन, संघीयता र कानूनका ज्ञाता मानिने पौडेल स्थानीय तह पुनसंरचना आयोगको सदस्य सचिवको रुपमा रहेर संघियता कार्यान्वयमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।





