बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रदेश हल्लाउने बागलुङमा कांग्रेस-जनमोर्चा ‘तीतो सम्बन्ध’ : सधैँ झडप, कहिल्यै नमिल्ने !

प्रदेश हल्लाउने बागलुङमा कांग्रेस-जनमोर्चा ‘तीतो सम्बन्ध’ : सधैँ झडप, कहिल्यै नमिल्ने !

चुनावको बेला मात्रै हैन मेला महोत्सवमा समेत बागलुङमा दुई पक्षको शक्ति प्रदर्शन र झडप हुन्छ ।


  • तारानाथ आचार्य
  • बैशाख २८ २०७८, मंगलबार

बागलुङ, २८ वैशाख – २०७६ साल माघ १ गते । बागलुङको जैमिनी नगरपालिका १,कुश्मीशेरा बजारको सहारा खेल मैदान । प्रथम जैमिनी महोत्सवको भव्य समारोह । प्रमुख अतिथि थिए, उपराष्ट्रपति नन्दबहादुर पुन । गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको बोल्ने पालो आयो । सुरुमै थापाले नेपाली कांग्रेसलाई सांकेतिक रुपमा गाली गरे । मेलाको उद्घाटनमा राजनीतिक भाषण नगर्ने भन्ने पहिल्यै दिएको जनाउले उनी रोकिएनन् । २८ वर्ष पहिले माघेसक्रान्ति मेलामै भएको घटना स्मरण गर्दै थापाले कांग्रेसविरुद्धमा आक्रोश पोखे र आफ्नो विषय सुरु गरे ।
२०४८ साल माघ १ गते कुश्मीशेराकै जैमिनी घाटमा लागेको माघेसक्रान्ति मेलामा तत्कालीन प्रहरी निरीक्षक ज्ञानेश्वर वैद्यको हत्या भयो । हत्यामा संलग्न भएको भन्दै तत्कालीन शासकहरुले राष्ट्रिय जनमोर्चाका कार्यकर्तालाई मुद्दा लगाए । सत्तामा नेपाली कांग्रेस थियो । कांग्रेसले आफूलाई मास्न बिना कसुर मुद्दा लगाएको राजामोले जिकिर गर्दै आएको छ । त्यो घटनाका केही अभियुक्त अहिले पनि फरार छन् । केहीले मुद्दा लडिरहेको बताउँछन्, राजमो बागलुङका अध्यक्ष अमरबहादुर थापा । राजमो र नेपाली कांग्रेसको दूरी त्यहीँबाट टाढिएको हो । त्यसयताका निर्वाचनहरुमा नत कहिल्यै राजमो र नेपाली कांग्रेस नजिकिए नत उनीरुको बीचमा लफडा नभएको निर्वाचन नै चुनाव नै छ ।
‘व्यक्तिगत रुपमा हाम्रो कुनै कसैसँग दुस्मनी छैन्’, थापा भन्छन् ‘तर, कांग्रेसले सत्ता र शक्तिको प्रयोग गरेर हामीलाई सधैं दवाउँदै आएको छ ।’ उनले कर्मचारीतन्त्रमा कांग्रेसको बर्चस्व रहेको र सत्तामा घुम्दैफिर्दै जाने भएकाले सधैँ आफूहरुमाथि प्रहार गर्ने गरेको आरोप लगाए ।
२०५३ सालमा ढोरपाटन मेलामा टेकबहादुर घर्तीको हत्या भयो । उनी नेपाली कांग्रेस निकट मानिन्थे । सो समयमा घटनामा संलग्न भएको भन्दै जाहेरी दर्ता हुँदा राष्ट्रिय जनमोर्चाका २ दर्जन कार्यकता मुद्दामा तानिए । त्यो मुद्दाको छिनोफानो अझै नभएको अध्यक्ष थापाको जिकिर छ । त्यो घटनाले दुई पार्टी बिचको दूरी थप बढाएको हो ।
२०५४ सालको स्थानीय निकाय निर्वाचनताका पैञ्युथन्थाप गाउँविकास समितिका अध्यक्ष टिका थापामाथि आक्रमण भयो । राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्ष भएका थापा जिल्ला विकास समितिको मतदान सकेर बाकससहित सदरमुकाम आउँदै थिए । सोही समयमा उनलाई एउटा समूहले आक्रमण ग¥यो । थापा सख्त घाइते भए । ‘छाती छेडेर मुटु बाहिर निकालेको थियो, भुँडी छेडेर आन्द्रा’, जनमोर्चा अध्यक्ष थापा भन्छन्,‘त्यो घटनामा कांग्रेसका कार्यकर्ता संलग्न थिए तर मुद्दा नै दार्ता भएन् ।’
राजमो र कांग्रेका बीचमा निर्वाचनका समयमा हुने घटनाका अनेक किस्सा मात्रै छैनन् राजमोको गढ मानिने बागलुङमा उनीहरुको बीचमा अहिले पनि पानी बाराबारकै स्थिति छ ।
२०५६ सालको संसदीय निर्वाचन होस् वा २०६४ को संविधान सभाको निर्वाचन ! राजमो र कांग्रेसका बीचमा भएका तनाव र त्यसको रापताप अहिलेसम्म छ । पहिलो संविधान सभाका बेला बागलुङ क्षेत्र नं. १ मा राजमोका जिल्ला अध्यक्ष अमर थापा आफै उम्मेदवार थिए । उनकै गाउँमा भएको अपहरणको घटना अहिलेसम्म ताजै छ । उनका छोरा कमलपुष्प थापा, भाइ तिलक थापालगायत २२ जनाको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा जैमिनी नगरपालिका–७ जैदीमा नेविसंघका नेता हरिहर शर्माको घरमा सांघातिक आक्रमण भयो । उनका बाबु, आमा र परिवारका अन्य सदस्यहरुको टाउको काटियो । घटनामा राजमो कार्यकर्ताको संलग्नता रहेको किटानी जाहेरी परेपछि अहिले पनि ३ जना युवाहरु फरार छन् । सोही निर्वाचनको समयमा पैञ्युथन्थापमा कांग्रेसका स्थानीय नेता नन्दकिशोर शर्मा लगायतका वृद्धलाई भीरबाट लडाइयो । घटनामा जाहेरी परेका सबै राजमोका कार्यकर्ता भएको जाहेरी परेको छ । त्यो घटनाका ८ जना फरार छन् । तर, राजमो अध्यक्ष थापा भने ती घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको जिकीर गर्छन् ।
गएको फागुपूर्णिमामा बल्देधुरीमा भएको घटनामा नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश कुँवर र अर्का एकजना मारिए । घटनामा संलग्न १५ जना पक्राउ पर्दा ४ जना राजमोका कार्यकर्तालाई नियोजित रुपमा फसाइएको थापाको दावी छ ।
निर्वाचनका बेला हुने घटना मात्रै होइन अन्य समयका मेला महोत्सवमा समेत बागलुङमा दुई पक्षको शक्ति प्रदर्शन हुन्छ । दुई ध्रुवमा स्पष्ट देखिने र एकले अर्कोलाई निषेध गर्ने परिपाटीको विकास भएको ३० वर्ष पुग्नै लाग्दासमेत तुष मेटिएको छैन् ।

चुनावी गठबन्धन

नेकपा एमाले र माओवादी केन्द्रको एकता भएपछिको नेकपा हुने बेलामा बाहेक राजमोले बागलुङमा एमाले बाहिरका शक्तिसँगै चुनावी तालमेल गरेको इतिहास छैन् । नेकपा हुने बेला चुनावी तालमेल गरेर कृष्ण थापा र खिमविक्रम शाहीले प्रदेशसभा सदस्यमा जितेका हुन् । स्थानीय तहको निर्वाचनमा राजमोले एमालेसँग गठबन्धन गरेको थियो ‘हामीले कतिपटक त भए एमालेसँग हुन्छ नभए कसैसँग गठबन्धन हुँदैन, एक्लै मैदानमा जाने भनेर वक्तव्य जारी गरेका घटना छन्’, थापा भन्छन्,‘कांग्रेस सँगसँगै चुनाव लड्ने त कुरै भएन् ।’

उमासंघमा मिलिमितो
पछिल्ला दुई कार्यकाल बाागलुङ उद्योग वाणिज्य संघमा भने राजमो निकट व्यापारीहरुको संगठनले कांग्रेससँग मिलेर चुनाव लड्यो । यसअघिको कार्यकालमा हीराबहादुर केसी सदस्य बने भने अहिले थानेश्वर सुवेदी उपमहासचिव टेकबहादुर क्षेत्री ‘संगम’ सदस्य बनेका छन् । त्यो बाहेक कांगेससँग मिलेर निर्वाचनमा होमिएको इतिहास नरहेको राजमो अध्यक्ष थापा वताउछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->