पोखरा, २९ वैशाख– कोरोना भाइरसले थलिएको अवस्थामा समेत कालोबजारी गर्दै स्वास्थ्यमा खेलवाड गर्ने विचौलियाको बिगबिगी बढिरहेको छ । केहि दिनअघि मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग गरिने प्रविधि अक्सिमिटरको कोलोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।
अक्सिमिटरको प्रयोग बढिरहँदा कालोबजारी समेत बढ्दै गएको छ । महामारीको समयमा अवैद्य अक्सिमिटर बेचविखन गर्दै आएका ७ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । नक्कली अक्सिमिटर बेचविखन गरेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रशासन कार्यालयका अधिकारीसहित प्रहरीको टोलीले अनुगमन गरी पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ७ सय ६५ थान नक्कली अक्सिमिटर बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई फरक फरक औषधी पसल तथा फर्मा स्थानबाट पक्राउ गरिएको हो । उनीहरुले कम्पनीको नाम, उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्री मुल्य केहि पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन सामानको बेचबिखन गरेको भेटिएको छ ।
विरानगर घर भई काठमाण्डौँ अनामनगर बस्दै आहा इन्डस्ट्रियल कम्पनीमा काम गर्दै आएका विशाल आचार्यले चिनबाट लुकाइ ल्याएर अवैद्य रुपमा बेचविखन गरेका थिए । उनले चिनबाट मास्कको तुना ल्याउने क्रममा सोही बक्सभित्र उक्त मिटर समेत लुकाइछिपाई ल्याएको खुल्न आएको छ । उक्त सामान ६–७ सय रुपैँया मात्र पर्ने गरेपनि २ हजार २ सय २० रुपैँयासम्म बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
यस्तै, सिन्धुली घरभई काठमाण्डौ कुलेश्वरमा वायोप्लस फर्मा संचालन गर्दै आएका शिखर श्रेष्ठलाई पक्राउ गरेको हो । उनको फार्मैसीबाट ८५ थान नक्कली अक्सिमिटर बरामद गरिएको हो । स्याङ्जा घरभई ललितपुरमा नानोटेक फर्मा संचालन गर्दै आएका २७ वर्षिय शेषकान्त अधिकारीलाई पक्राउ गरिएको हो । उक्त फर्माबाट २४ थान, चिरायु केडी गु्रप प्रालिमा काम गर्दै आएका सुनसरी घरभई काठमाण्डौ बस्दै आएका ३९ वर्षीय पुष्कर घिमिरेलाई पक्राउ गरेको हो ।
उक्त प्रालिबाट ९ थान अक्सिमिटर बरामद गरेको हो । भारत राजस्थानका ५५ वर्षीय जगदिश प्रसाद राना सरियालाई पक्राउ गरिएको हो । उनको साथबाट ३ सय ९६ थान अक्सिमिटर बरामद गरिएको छ । बाजुरा घरभई ललितपुर बस्दै आएका २१ वर्षीय थुमराज उपाध्याय र सिन्धुपाल्चोकका सन्तोष भण्डारीको साथबाट ९१ थान अक्सिमिटर बरामद गरेको प्रहरीले जानकारी दिएका छन ।
चिरायु केडीले खरिद गरेको अक्सिमिटरमध्ये १६० थान नक्कली अक्सिमिटर एन.के. लोजिष्टिक काठमाण्डौबाट सोही कार्यालयको शाखा रुपेन्देहीमा समेत पठाएको थियो । उक्त नक्कली अक्सिमिटर रुपेन्देही प्रहरीले बरामद गरेको छ । उनीहरुविरुद्ध कालोबजारी ऐनअन्तर्गत आवस्यक कार्वाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।





