
बागलुङ, ३० वैशाख– बागलुङमा कोरोनाका संक्रमित छिटफुट देखिन थालेपछि होल्डिङ सेन्टरका लागि धेरै छलफल भए । विदेशबाट आएकाहरु सोझै घर पुग्न नपाउन भनेर होल्डिङ सेन्टर राख्ने पहल भएको थियो ।
कहिले शान्ति समितिको पुरानो भवन छनौट गरेर अनुगमन समेत भयो । रामरेखामा रहेको बहुउद्दश्यीय कवर्डहल पनि छनौटमा परेको थियो । उक्त भवनमा झण्डै ५० जनासम्म राख्न सकिने भएपछि सामान्य तयारी भयो । बजेट अभावमा होल्डिङ सेन्टर बन्न सकेन ।
होल्डिङ सेन्टर बनाउने वा संचालन गर्ने जिम्मा जिल्ला कोभिड व्यस्थापन समिति डिसीसीएमसीको हुन्छ । तर समितिमा बजेट भने छैन । त्यसैले स्थानीय पालिकाको सहकार्यमा मात्रै ती सेन्टर संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की बताउँछन् । ‘समितिमा बजेट अभाव छ, बजेट भएका पालिकाले आँट गर्नुभयो भने मात्रै सम्भव छ,’ उनले भने ।
विकास बजेटदेखि स्वास्थ्य र व्यवस्थापकीय बजेट पालिका तहमा केन्द्रीत भएको र स्थानीय सरकार समेत भएकोले नगरपालिकाले जिल्ला प्रवेश गरेका मानिसलाई होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउनुपर्ने नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठले बताए । ‘सेन्टर बनाएर आएका मानिस राख्न नगरपालिकाले पनि सक्नुपथ्र्यो,’ उनले भने, ‘बजेट खर्चने विषयमा कोही अगाडि सरेका छैनन् ।’ गत वर्ष क्वारेन्टाइन, आइसोलेसन लगायतका स्थान बनाउन लाखौं खर्चेका पालिका र संघसंस्थाले अहिले चासो नराखेका हुन् ।
पछि भुक्तानी हुने भन्दै रकम खर्चेका पालिका आफ्नै खर्चमा सिमित हुनुपरेपछि अहिले पछि हच्केको अनुमान छ । ‘होल्डिङ सेन्टर भन्ने बित्तिकै कम्तिमा एकदुई दिन राख्नै पर्छ, त्यसका लागि खाना खुवाउने खर्च पु¥याउन समस्या छ’ बागलुङ नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘रातमा बस्ने भएपछि लत्ता कपडा जुटाउनुपर्ने, शौचालय, खानेपानी जस्ता धेरै व्यस्थापनको समस्या पर्छ ।’ ती सबै खर्च गर्नु भन्दा घरमा गएर सुरक्षित बस्न प्रेरित गर्नुपर्ने उनले बताए ।
खर्च अभावमा होल्डिङ सेन्टर नबनेपछि विदेशबाट आएकाहरु सोझै गाउँ पुगेकोले यो पटकको संक्रमण दुर्गम गाउँ पुगेको देखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘राख्नै पर्नेभन्दा पनि बाहिरबाट आएको व्यक्तिले आँफै सुरक्षित बन्ने हो’ गुरौले भने, ‘समाजको सुरक्षा गर्ने काम हामी सबैको हो ।’ ताराखोला, बडिगाड र गलकोट लगायतका ग्रामीण बस्तीमा संक्रमण फैलिनुमा सहरी क्षेत्र र भारतबाट आएकाहरु सोझै घरमा पुग्ने, उनीहरुले स्वासथ्य सुरक्षा मापदण्ड पालना नगरेको भएको उनले बताए ।
बजेट अभाव देखाएरै मालढुंगामा हेल्थ डेस्क पनि राखिएको छैन । हेल्थ डेस्क राख्न पनि बजेटको अभाव भएको प्रजिअ कार्कीले बताए । ‘हामी निर्णय गर्छौ, सुरक्षाका लागि निर्देशन पनि दिन्छौं, तर बजेट छैन’ कार्कीले भने, ‘तत्कालका लागि चाहिने कतिपय व्यवस्थापनमा खटिए पनि पैसा लगानी नगर्दा धेरै काम गर्न सकिएन ।’
प्रशसनले प्रहरी जनशक्ती चौबिसै घण्टा खटाउने काम भने गरिरहेको कार्कीले बताए । बजेट कसले लगानी गर्ने भन्ने यकिन नभएकै कारण यो वर्ष बागलुङमा एउटा पनि क्वारेन्टाइन बनेका छैनन् । लक्षण नदेखिएका संक्रमित समेत घर घरमा बसेका छन् । बजार क्षेत्रमा संक्रमण पुष्टी भैसकेकाले पसल खोलेर बसेकोले संक्रमण समुदायत हमा फैलिएको समेट टिप्पणी भएको छ ।





