
बागलुङ, ३१ वैशाख– बागलुङको बडिगाड गाउँपालिका वडा नं. ४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनीहरुको एक हप्ता भित्रै मृत्यु भएको हो । बडिगाड ४ को जलजलामा दुइ हप्ता अघि बिवाह भोज खाएकाहरुनै संक्रमित भएका हुन् । मृत्युहुनेमा पनि बिवाह भोजमा गएकाहरुनै रहेको स्थानीयले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरमा ८७ बर्षिय बाबु, ५१ बर्षिय र ४० बर्षिय दुइ छोराहरु रहेका छन् । उनीहरु मध्ये ८७ बर्षिय बाबु र ४० बर्षिय छोराको धौलागिरी अस्पताल बागलुङ र ५१ बर्षिय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० बर्षिय एक पुरुषको पनि मृत्यु भएको छ । यो घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांस मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तिमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मकालागि बागलुङ जिल्लाभर निशेधाज्ञा लगाएको छ ।





