शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका ग्रामिण क्षेत्रमा कसरी फैलियो कोरोना ?

बागलुङका ग्रामिण क्षेत्रमा कसरी फैलियो कोरोना ?

कोरोना संक्रमण फैलिएका गाउँमा सहरी क्षेत्र र छिमेकी मुलुक भारतबाट आएकाहरु सिधै घर घरमा पुगेको बढी भेटिए ।


  • ढोरपाटन सम्वाददाता
  • बैशाख ३१ २०७८, शुक्रबार

बागलुङ, ३१ वैशाख– बागलुङमा लगाएको निशेधाज्ञा दश दिन पुग्दा कोरोना संक्रमणको चेन ब्रेक हुन सकेको छैन । बरु पछिल्लो साता दैनिक एक सय जनाभन्दा धेरै मानिसमा संक्रमण फैलिएको छ ।
दैनिक देखिने संक्रमित सदरमुकामभन्दा ग्रामीण क्षेत्रका बढी छन् । नगरपालिकाकै बलेवा क्षेत्र सबैभन्दा संक्रमित भएको स्थान हो । नगरपालिकाको वडा नं. ७ र ९ पनि उत्तिकै जोखिममा परेका छन् । त्यसबाहेक काठेखोला, ताराखोला र बडिगाड गाउँपालिकामा बढी संक्रमित देखिएका छन् ।
गलकोटमा बिहिबार आएको पीसीआर रिपोर्टमा ६४ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकलपर्सन देवप्रकाश घिमिरेले बताए । बलेवा क्षेत्रमा वैसाख ८ गतेदेखिनै निशेधाज्ञा लागेको छ । ‘जता–जता बढी संक्रमित देखिएका छन्, त्यहीं बढी विवाह र ब्रतबन्धका भोज लागेका थिए’ घिमिरेले भने, ‘अझैपनि भोजभतेरको क्रम रोकिएको छैन ।’ अझै दुइसाता बन्दाबन्दी गरेर संक्रमण नियन्त्रणमा लिनुपर्ने उनले बताए ।
निशेधाज्ञा लाग्दा शैक्षिक संस्था मात्रै ठप्प भएको स्थानीयले टिप्पणी गरेका छन् । ‘विकास निर्माण नरोक्ने, अत्यावस्यक सामग्री भन्दै गाडी गुड्ने र तरकारी किन्ने निहुँमा बजार डुल्ने मानिसबाट समस्या थपिएको हो’ उद्योग बाणिज्य संघ बागलुङका सदस्य गणेशराज लम्सालले भने, ‘जटिल समस्या आइसकेको छ, मानिसमा अझै चेत खुल्ने भएन ।’
निशेधाज्ञाकै समयमा बागलुङका केही बैंकमा अत्याधिक भीड लाग्ने गरेको छ । सामाजिक सुरक्षा भत्ता लिन भन्दै गाउँबाट बुढाबुढी बजारमा आउने गरेका छन् । ग्रामीण क्षेत्रमा मानिस जम्मा हुने, क्यारीमबोर्ड, जुवातास र अन्य खेल खेल्ने गरेकोले संक्रमण बढेको बानपा–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । उनले विज्ञप्ती प्रकाशित गरेर गाउँले बजारमा पनि भीड नगर्न आग्रह गरेका छन् । ‘गाउँमा अझै भोजभतेर रोकिएको छैन, आँफूलाइ नपरेसम्म कसैले टेरेनन्’ गौतमले भने, ‘निशेधाज्ञा भनेको प्रहरीलाई देखाउन मात्रै हो भन्ने प्रवृत्ति डरलाग्दो भयो ।’
केही दिनदेखि प्रशासनको निर्देशनमा जनपथ र सशष्त्र प्रहरीले बलेवा लगायतका ग्रामीण क्षेत्रमा गस्ती पनि बढाएको बताइएको छ । ग्रामीण क्षेत्रमा भोज खाएर बिरामी परेकाले अन्तिम अवस्था आएपछि मात्रै अस्पताल आएका छन् । त्यसरी आएकाको उपचारमा कठिनाई भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । ‘ताराखोालकी जनप्रतिनिधिलगायत केही संक्रमितहरु अन्तिम अवस्थामा मात्रै आएकोले बचाउन सकिएन’ पोखरेलले भने, ‘अस्पतालमा पनि सबै बेडमा हाइफ्लो अक्सिजन नभएकोले व्यवस्थापनमा कठिनाई छ ।’
बडिगाडमा पनि संक्रमण बढी फैलिएको स्वास्थ्य शाखा प्रमुख चुडामणी कंडेलले बताए । ‘पहिलो पटकको भन्दा दोश्रो लहर शक्तिशाली छ, सामान्य सम्पर्कमा आएकालाई पनि संक्रमण देखिएको छ’ कंडेलले भने, ‘घरभित्रै बसिदिनुहोस् भन्दापनि यो बेला भोजभतेर गर्नेकामले आफ्नै इष्टमित्रमा असर परेको छ ।’ संक्रमित बढेपछि पालिकाले अक्सिजन सहितका बेड तयार पारेको छ । जटिल समस्या भएकालाई अक्सिजनले मात्रै बचाउन नसकिने उनले बताए ।
जैमिनी नगरपालिका ५ मा परीक्षण गरिएका सबैको संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुले स्वाब दिनै नमानेको स्थानीयले बताए । ‘स्वास्थ्य शाखाका एक कर्मचारीमा संक्रमण देखिएपछि कार्यालय बन्द छ’ एक जनप्रतिनिधिले भने, ‘भुसको आगोझै भित्रभित्रै संक्रमण बढेको छ ।’ कडा लकडाउन नभएसम्म आगो नियन्त्रण नहुने उनको भनाई छ ।
संक्रमण फैलिएका गाउँमा सहरी क्षेत्र र भारतबाट आएकाहरु सिधै घर घरमा पुगेको बढी भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल बिकले बताए । आँफू मात्र नभइ छिमेकीलाईपनि सास्ती दिएपछि प्रशासनले सशष्त्र प्रहरीनै खटाएर भीड नियन्त्रण गरेको उनले बताए । बागलुङमा बिहिबारसम्म ५ सय ५० बढी सक्रिय संक्रमित पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->