शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बडिगाडमा बिहेपछिको सन्नाटा…!

बडिगाडमा बिहेपछिको सन्नाटा…!

वैशाख लागेदेखिनै गाउँगाउँमा भएका बिहे, व्रतबन्ध र चौरासी पूजामा भोज गर्दा गाउँगाउँमा संक्रमण पुग्यो : स्वास्थ्य कार्यालय


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १ २०७८, शनिबार

बागलुङ, १ जेठ– बिहे भोज खाएपछि कोरोना संक्रमण पुष्टि भएका बागलुङको बडिगाड गाउँपालिका ४ जलजलामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा एकै घरका ३ जना छन् ।
कोरोना संक्रमणपछि धौलागिरि अस्पतालमा उपचारको क्रममा वैशाख २४ गते ८७ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनका २ छोराको बिहीबार पोखरा र शुक्रबार बागलुङमा मृत्यु भएको हो । मृत्यु हुनेमा ५१ र ४० वर्षका पुरुष छन् । शुक्रबारै बडिगाड–४ का अर्का ४० वर्षीय पुरुषको पोखरामै मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
वैशाख ११ गतेको भोज खाएकाहरुमा साता दिनभित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप परीक्षण भएको छैन । तर संक्रमण पुष्टि भएकाहरुमै जटिल समस्या देखिएका छन् ।
अझै केही अस्पतालमा उपचाररत छन् भने केही घर घरमै बिरामी परेको स्थानीयले बताए । शुक्रबार दिउँसो कोरोनाकै लक्षण भएकी एक ७५ वर्षीय महिलाको मृत्यु भएको स्थानीय अगुवा झविन्द्र बुढाथोकीले जानकारी दिए । ती महिलाको भने पीसीआर परीक्षण भएको थिएन ।
पोखरा र बागलुङमा मृत्यु भएकाहरुको शव परिवारका सदस्यको सहमतिमा सेनाले व्यवस्थापन गर्नेछ । गाउँमा मृत्यु भएकाहरुको शव व्यवस्थापनमा निस्कने कोही नभएको उनले बताए । ‘घर घरमा संक्रमित छन्, धेरै बिरामी पनि छन् त्यसैले शव व्यवस्थापनमा समेत कठिन छ,’ उनले भने, ‘गाउँभरका मानिसलाई सकारात्मक सन्देश र मनोसामाजिक परामर्श दिनुपर्ने बेला भएको छ ।’
बडिगाडमा संक्रमण र जटिल बिरामीको संख्यासमेत बढिरहेकोले कम्तिमा १० दिन ‘शिल’ गरेर खोजपड्ताल गर्ने स्वास्थ्य शाखाका प्रमुख चुडामणी कँडेलले बताए । स्वास्थ्य शाखा, जनप्रतिनिधि र सामाजिक अगुवाले हरेक घरका संक्रमितको अवस्थाबारे बुझ्नुपर्ने उनले सुझाए । ‘विद्यालयका कोठालाई आइसोलेसन बनाएर परिवारकै सदस्यले स्याहार गर्ने व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘अन्यथा बिरामीलाई स्याहार नपुगेर मर्ने अवस्था आउँछ ।’
पालिकाले अक्सिजनसहितका आइसोलेसन बनाइरहेको छ । हाल बडिगाड डोजोको भवनमा २० शैयाको आइसोलेसन बनाइएको छ । पालिकाले सामूहिक कक्ष भन्दा विद्यालयका भवन प्रयोग गर्दा उपयोगी हुने ठहर गरेको छ । ‘कोठामा एक÷एक जना बिरामी राख्दा संक्रमणको दर कम हुने, परिवारका सदस्यले स्याहार गर्न पाउने र छिटो निको हुने अवस्था आउँछ,’ कँडेलले भने, ‘जनप्रतिनिधिहरुकै अगुवाइमा खोजी पड्ताल गर्दा समयमा उपचारमा लयउन समेत सकिन्छ ।’ बडिगाड ४ बाहेक अन्य वडामा पनि संक्रमण तीव्र फैलिएको छ ।
जलजलाका बाहेक अहिलेसम्म वडा नं ६ मा १ जना, ७ मा १ जना र ९ मा पनि एक जना गरी थप ३ जनाको मृत्यु भइसकेको छ । बडिगाडमा एकजना डाक्टर र केही स्वास्थ्यकर्मी मात्रै छन् । उपचारलाई प्रभावकारी बनाउन थप स्वास्थ्यकर्मीको परिचालन गर्नुपर्ने बुढाथोकीले बताए । बडिगाडबासीको बुटवल भैरहवा आउजाउ भएकोले संक्रमण उतैबाट भित्रिएको अनुमान छ । वडा नं. ७ की एक महिला बुटवलमा सुत्केरी भएर गाउँ फर्केपछि परिवारका सदस्यमा संक्रमण देखिएको थियो । संक्रमितको मृत्यु भइसकेको छ ।
वैशाख लागेदेखिनै गाउँगाउँमा भएका बिहे, व्रतबन्ध र चौरासी पूजामा भोज गर्ने क्रमले संक्रमण गाउँ गाउँमा पुगेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘अहिले धेरै गाउँमा यस्तै समस्या देखिएका छन्,’ गुरांैले भने, ‘संक्रमितको पहिचान बेलैमा गरियो भने मात्रै मृत्युदर घटाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->