बागलुङ, २ जेठ– कोरोना संक्रमितले बेडहरु भरिन थालेपछि धौलागिरि अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि दैनिक २५ वटा पिपिई चाहिन्छ । तर, अस्पतालमा एकसय वटाले एक साता पु¥याउनुपर्ने बाध्यता छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सामग्री आपूर्ति शाखाबाट सीमित सामग्री पठाएपछि अस्पतालमा पिपिई लगाएका स्वास्थ्यकर्मी र चिकित्सकले फेरेर आराम गर्ने मौका पाउन सकेका छैनन् । बिहान लगाएपछि बेलुकीसम्म नखोल्दा फोन उठाउन नपाउने, खाजा र खाना खाने फुर्सद नपाउने समस्या पर्ने गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनले सकेसम्म थोरै प्रयोग गरेर उपचार भ्याउन लगाएको बताए ।
अस्पतालको आफ्नो स्रोत नभएको, नियमित खरिदका लागि बजेट नआएको तर दैनिक दर्जनौं सेट पिपिई चाहिने भएपछि स्वास्थ्यकर्मीले दाता समेत खोज्नु परेको उनले बताए । केही दिनदेखि बिरामी संख्या बढेका छन् । अस्पतालको इमरजेन्सी वार्डमा पनि कोरोनाका शंकास्पद बिरामी भएकोले त्यहाँ कार्यरत स्वासथ्यकर्मीलाई पनि पिपिई दिनुपर्ने माग बढेको छ ।
‘जोखिममा बसेर साथीहरुले काम गर्नुभएको छ, पिपिई दिनुपर्ने छ,’ पोखरेलले भने, ‘आइसोलेसनलाई चाहिन्छ भनेर अड्कलेर मात्रै सामग्री दिने गरिएको छ ।’ अस्पतालले १ सय बेड बनाएर चलाउने योजना छ । अस्थायी रुपमा योजना पूरा गर्दा पिपिई पनि थप्नुपर्ने डा. पोखरेलले बताए । बागलुङ नगरपालिकाले बनाएको आइसोलेसनमा ३५ बेड छन् । तीमध्ये आधा भरिएका छन् । उक्त आइसोलेसनमा पनि अस्पतालका चिकित्सकले सेवा दिएकोले थप पिपिई चाहिएको उनको भनाइ छ ।
नगरपालिकाले खटाएका स्वास्थ्यकर्मीबाहेक जटिल समस्या पर्दा अस्पतालबाट डाक्टर पुग्ने गरेका हुन् । समयमा चाहेजति पिपिई नआएपछि अड्कल गरेर प्रयोगमा ल्याएको पोखरेलले बताए । ‘दैनिक २५ वटा पिपिई चाहिन्छ, तर हामीले घटाएर प्रयोगमा ल्याएका छौं,’ पोखरेलले भने, ‘एक सातामा १ सय २० वटा सम्मले पु¥याएका छौं ।’
अस्पताल व्यवस्थापन समितिले विभिन्न संघसंस्था गुहारेर पिपिई, पन्जा, मास्क र बुटलगायतका सामग्री जुटाउने काम गरिरहेको समितिका अध्यक्ष केवी रानामगरले बताए । ‘डाक्टर, नर्सले आफंै जोखिम मोलेर काम गरिरहेका छन्, उनीहरुलाई भत्ता त दिन सकिएको छैन, सुरक्षित पिपिई दिन पनि सकिएन,’ रानामगरले भने, ‘हरेक दिन मन्त्रालय तहमा माग भैरहेको हुन्छ, उचित सुनुवाई भएको छैन ।’
अस्पतालले नियमित डाएलाएसिस, इमरजेन्सी र प्रसुती सेवा समेत दिएको छ । उक्त सेवामा खटिने स्वास्थ्यकर्मी र चिकित्सकले पिपिई लगाउन पाएका छैनन् । ‘आइसोलेसनमा नपुग्ला भनेर अन्य शाखामा पिपिई दिन पाएका छैनौं,’ डा. पोखरेलले भने, ‘अन्य शाखामा खटिने स्वास्थ्यकर्मीमा संक्रमण देखियो भने काम समेत ठप्प हुने खतरा छ ।’
अस्पतालमा एक महिनादेखि मेडिकल अधिकृत समेत अभाव छ । चैत पहिलो सातासम्म १४ जना मेडिकल अधिकृत रहेकोमा अहिले ४ जना मात्रै छन् । मन्त्रालयमा जनशक्ती माग गरेपनि नपाएको पोखरेलले गुनासो गरे ।





