
बागलुङ, २ जेठ– बलेवास्थित बागलुङ नगरपालिका वडा नं. १४ मा ४ शैयाको प्रिआइसोलेसन निर्माण गरिएको छ । रुघाखोकी र ज्वरोको लक्षण देखिइरहेकोले वडा कार्यालयले प्रिआइसोलेसन बनाएको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । यहाँ अझै ३३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
लक्षण देखिएका तर तत्काल अस्पताल लैजाने अवस्था नभएका बिरामीलाई प्रिआइसोलेसनमा राखेर उपचार गराउने व्यवस्था गरिने खत्रीले बताए । तत्कालीन गाबिस कार्यालय रहेको घरमा ४ बेड राखेर पहिलो चरणको काम थालिएको हो । ‘सामान्य समस्या देखिएकालाई उपचार गर्न एक जना डाक्टर र केही नर्सको व्यवस्थापन गर्दैछौं,’ खत्रीले भने, ‘एमडी पढ्न बिदामा बसेका डा. प्र्र्रकाश कार्कीले समय दिएकोले प्रिआइसोलेसन संचालनमा सहज भएको हो ।’ उनले कम्तिमा २ जना स्टाफ नर्स वा अनमीको व्यवस्था गर्न लागेको जानकारी दिए ।
वडाबाट नियुक्ती पाएका स्वास्थ्यकर्मीहरु सामान्य सेवासुविधा मात्रै पाउने स्वयंसेवी हुनेछन् । बागलुङस्थित धौलागिरि अस्पताल पठाउनु पर्ने भएमा उक्त प्रिआइसोलेसनबाट पठाइने उनले बताए । ‘एकदुई जना बिरामीलाई यहींबाट पठायौं, प्रारम्भिक उपचार पाएकोले बागलुङ पुगेपछि निको हुँदैछन्’ खत्रीले भने, ‘लक्षण देखिएका बिरामीको खोजी भैरहेकोले उनीहरुको पछिल्लो अबस्थाबारे पनि जानकारी लिइरहेका छौं ।’
नगरपालिकामा जानकारी गराएर अझै व्यवस्थित बनाउन खोजेपनि नगरप्रमुखले जोखिम नउठाउन आग्रह गरेपछि खत्रीले एकल प्रयास गरेको बताए । ‘धेरै सकिएन, तर चार बेड भएपनि तत्काल बागलुङ पठाउनुपर्नेको पहिचान गर्न सजिलो होला भनेर यो काम गरियो’ खत्रीले भने, ‘घरभित्रै बसाल्न सकियो भने एकसातामा सबैजसो निको पार्न सकिन्छ ।’ छिमेकी वडामा भोजभतेरले धेरै बिरामी भएको थाहा पाएपनि आफ्नो वडामा ठप्प बनाउन लगाएको बताए ।





