बागलुङ, ३ जेठ– कोरोना महामारीसँग जुध्न बागलुङका दशवटै स्थानीय तहले साझा कार्यक्रम ल्याउने भएका छन् ।
स्वास्थ्य सामग्रीको खरिद, अक्सिजनको व्यवस्थापन, जनशक्तिको व्यवस्थापन र मृतकको शव व्यवस्थापन लगायतका काम यहाँका दशवटै स्थानीय तहको सहभागितामा हुने भएको हो ।आईतवार भर्चुअल माध्यमबाट बसेको दशवटै स्थानीय तहका प्रमुख, उपप्रमुखसहितको बैठकले ५५ लाख रुपैयाँको साझा कोष खडा गरेका छन् । सोहि कोषको परिचालनबाट स्वास्थ्य सामग्री, जनशक्ति र उपचारको क्रममा मृत्युहुने मृत्यु संस्कार गरिने भएको हो । कोषबाट अक्सिजनको ढुवानी र व्यवस्थापनको काममा समेत खर्च हुने छ ।
कोषमा बागलुङ नगरपालिकाले १० लाख रुपैयाँ र अन्य सबै स्थानीय तहले पाँच÷पाँच लाख रुपैयाँ जम्मा गर्ने सहमती भएको छ । ‘अहिले बिरामीको उपचार धौलागिरी अस्पताल केन्द्रित भैरहेको छ, सोही अनुसारको तयारी हामीले गर्नुछ’ बागलुङ नगरपालिकाका प्रमुख जनकारज पौडेलले भने ‘हामीले कोष बनाएका छौं, अस्पतालसँग समन्वय गरेर आवश्यक ठाउँमा कोषको परिचालन हुन्छ ।’ बागलुङ नगरपालिकामा रहने कोषको रकम खर्चका लागि धौलागिरि अस्पतालले अधिकार पाएको छ । अस्पतालको अवश्यकताका आधारमा खर्च गर्न पालिका प्रमुखहरु सहमत भएका हुन् ।
बैठकले कोरोना महामारीको समयमा समेत यहाँका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव भैरहेको बिषयमा प्रदेश र संघ सरकारको ध्यानाकर्षण समेत गराएको छ । कोभिड नियन्त्रणकालागि जनशक्ति थप आवश्यक हुने भन्दै गण्डकी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएको पौडेलले बताए । गत बर्ष पनि कोरोना महामारीको समयमा यहाँका स्थानीय तहले भारत लगायतका देशबाट आउनेहरुलाई क्वारेन्टाईनको व्यवस्था, नमुना संकलन तथा परीक्षण र राहत लगायतका कामका लागि संयुक्त कोष बनाएर काम गरेका थिए ।





