बागलुङ, ३ जेठ– दुई साताअघि ताराखोला गाउँपालिकाकी एक जनप्रतिनिधिको कोरोना संक्रमणबाट मृत्यु भयो । उनको मृत्युसँगै गाउँमा संक्रमण फैलियो ।
सातादिनमै गाउँका ४८ जना सक्रिय संक्रमित पुगे । अहिले समस्या भएका १४ जना आइसोलेसनमा छन् । सुरुवातका दिनमा असावधानी, विवाहका भोज, विदेशबाट आएकाहरुको वास्ता नगर्ने प्रवृत्तिले संक्रमण घर घरमा पुगेको थियो ।
तर पछिल्लो समय ताराखोलामा संक्रमण बढेको छैन । संक्रमणमा परेकालाई घर घरमा राखिएको छ । घरमा बस्ने पनि अनिवार्य स्वास्थ्य मापदण्ड अपनाएका छन् । ‘गाउँघरमा भएपनि राम्रो व्यवस्थापन र मापदण्ड पालना गरेर संक्रमणको चेन ब्रेकमा ताराखोलाले काम थालिसकेको छ’ स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले भने, ‘ताराखोलाले गरेजति व्यवस्थापन सबै पालिकामा गर्ने हो भने जेठ महिनाभित्रै जिल्लामा संक्रमण शुन्यमा झार्न सकिन्छ ।’ त्यसपछि गाउँमा भित्रनेको निरन्तर तथ्यांक राख्ने र सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाउन सकेमा समुदायमा संक्रमण फैलन नपाउने उनले बताए ।
ताराखोला गाउँपालिकाले औषधि भित्राउने काममा मात्रै सक्रियता देखाएको होइन, काममा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिने, मोबाइल चार्ज खर्च दिने र नियमित सम्पर्कमार्फत स्वास्थ्य अवस्था बुझ्ने काम गरिएको भेटिएको छ । कन्ट्रयाक्ट ट्रेसिङका परेकालाई क्वारेन्टाइनमा बसाल्ने र स्वाब संकलन गरेपछि रिपोर्ट नआउन्जेल सुरक्षित बस्न लागाउने काम समेत गरेको हो ।
‘एकाएक गाउँमा संक्रमण फैलिनुको कारण खोज्दैछौं’ अध्यक्ष प्रकाश घर्तीले भने, ‘नजानेर जे भएपनि संक्रमण फैलन नदिने गरी कडाइका साथ काम गरेका छौं ।’ उनले जेठ महिनाभित्रै ताराखोलालाई शुन्य संक्रमणमा झार्ने उनले बताए । हरेक पालिकाले आफ्नो क्षेत्रमा सक्रियता बढाएमा कोरोना संक्रमण अन्त्य गर्न सकिने समेत उनले सुझाए ।
गलकोटमा पनि शनिबारदेखि कडाइ गरिएको छ । हटिया, हरिचौर लगायतका बजार क्षेत्रमा भीड हुने, बजार खोल्ने क्रमले संक्रमण बढेको थियो । सामुहिक रुपमा सबै वडाको स्वाब संकलन गरेर पीसीआर गर्दा सबैतिर फैलिएको भेटिएपछि कडाइ गरिएको वडा नं. २ का अध्यक्ष हिमबहादुर भण्डारीले बताए ।
‘सबै वडाका कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गर्दा वडा नं. ६ मा धेरै देखिए, अन्यत्र पनि संक्रमित भेटिएका छन्’ उनले भने, ‘तत्काल उनीहरुबाट अरुमा फैलन नदिने उपायको खोजी गरिरहेका छौं ।’ दुवै पालिकामा भोजभतेरबाटै संक्रमण फैलिएको अनुमान गरिएको छ । वास्तविक अवस्थाबारे बुझ्न स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौसहितको टोली पालिकाहरुमा पुगेको थियो । पीसीआर बढाउने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने विषयमा पालिका तहमा छलफल भएको गुरौले जानकारी दिए ।
बडिगाड गाउँपालिकामा पनि शनिबारदेखिनै निशेधाज्ञा कडाइ भएको छ । वडा नं. ४ सहित संक्रमण पुष्टी भएकाहरुको अवस्था बुझेर थप संक्रमण बढ्न नदिने गरी काम भैरहेको स्वास्थ्य शाखा प्रमुख चुडामणी कंडेलले बताए । ‘संक्रमतिलाई हौसला थप्ने, समस्यामा परेकाहरुको समयमा उपचारमा पु¥याउने काम भैरहेको छ’ उनले भने, ‘समुदायमा फैलन नदिन मापदण्ड पालनामै बढी ध्यान दिनुपर्छ ।’ भोजभतेरबाट राम्रो पाठ सिकाइ भैसकेकोले अब कसैले जवरजस्ती नगर्ने उनले बताए ।





