बागलुङ, ३ जेठ– बिहान आँखा मिच्दै प्रयोशाला पुगेका नारायण कोईराला रातको दश बजेपछि मात्रै प्रयोगशलाबाट बाहिरीन्छन् । धौलागिरी अस्पतालको आरटी पिसिआर प्रयोगशालाका प्रमुख कोईराला मात्रै होईन त्यहा काम गर्ने रश्मी शर्मा र अर्जुन क्षेत्रीको पनि दैनिकी उस्तै हो ।
सरकारी नियम अनुसार उनीहरुले आठ घण्टा काम गरे पुग्छ । सोही आठ घण्टा समयभित्र खाना र खाजाको समय पाउँछन् । तर अहिले अवस्था सुविधा खोज्ने खालको छैन् । अस्पतालको प्रयोशालामा थुप्रिएका थ्रोट स्वाबका नमुना र शैयामा छटपटाईरहेका बिरामीले उनीहरुलाई अत्याईरहेका हुन्छन् । नारायण, रश्मी र अर्जुनले दिनको १५ घण्टा काम गरिरहेका छन् । उनीहरुको कामलाई स्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियन डिल्ली आचार्यले पनि सघाएका छन् ।
प्रयोगशालाको क्षमता दिनमा २ सय नमुना परीक्षण गर्ने हो । एक पटकमा ७० वटा नमुनाको परीक्षण गर्न सकिन्छ । व्यक्तिगत स्वास्थ्य सुरक्षा कवच लगाएर एक सिफ्टभन्दा धेरै काम गर्न कठिन हुन्छ । ‘मानविय धर्म सम्झेर काम गरेका छौं, विकल्प छैन्, हामीले एक सिफ्टभन्दा गर्दैनौ भन्दा स्थिती भयावह हुन्छ’ कोईराला भन्छन् ‘जनशक्तिको व्यवस्थापन भए सहज हुने थियो ।’
यो समाचार तयार पार्दासम्म अस्पतालमा ४ सय संकलन भैसकेका नमुना जाँच गर्न बाँकी छन् । धौलागिरी अस्पतालमा आउने शंकास्पद बिरामी र स्वास्थ्य कार्यालयले गर्ने कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाब लिने काम पनि चलिरहेको छ ।
‘दिनको एक पटक मेसिनमा राख्न पुग्ने स्वाव अस्पतालले नै संकलन गर्छ’ कोईराला भन्छन् ‘त्यो बाहेक बाहिरबाट आउने स्वाबको परीक्षण पाईपलाईनमा राखेर गरिरहेका छौं ।’ प्रयोगशालाले अस्पतालमा आउने शंकास्पद बिरामीलाई प्राथमिकतामा राखेर परीक्षण गर्ने गरेको छ । संक्रण दर बढेको र स्वाब संकलन समेत धेरै भएकाले एकै दिनमा रिपोर्ट पाउन कठिन छ । पछिल्लो समय स्वाब संकलन भएको चार दिनसम्ममा रिपोर्ट दिन सकिएको अस्पतालले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले प्रयोगशालाका लागि थप जनशक्तिको व्यवस्थापन गरेको छ । पर्वत अस्पतालमा रहेका ल्याव टेक्निसियन र मुस्ताङ अस्पतालमा रहेका ल्याव असिस्टेन्टलाई बागलुङ खटाईएको छ । मन्त्रालयले वैशाख २२ गते निर्णय गरेर उनीहरुलाई यहाँ पठाएको हो । वैशाख २८ गते रमाना लिईसकेका प्राविधिकहरु अझै अस्पतालमा आएका छनैन् ।
जनशक्ति अभावका कारण प्रयोगशालाको काम निरन्तर गर्न कठिन भैरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले यहाँको प्रयोगशालामा म्याग्दी, पर्वत र मुस्ताङमा संकलन भएका स्वाब परीक्षण भैरहेका छन् । पोखराबाट समेत स्वाब परीक्षण गरिदिन अनुरोध आउने गरेको प्रयोगशालाका एक प्राविधिकले बताए ।





