बागलुङ, ३ जेठ– धौलागिरी अस्पताल बागलुङमा २५ थान अक्सिजन सिलिण्डर थप भएका छन् । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अस्पतालका लागि सोमबार अक्सिजन सिलिण्डर पठाएको हो ।
१ सय ४ थान सिलिण्डर रहेको अस्पतालमा सोमबार थपिएका सिलिण्डरसँगै १ सय २९ थान सिलिण्डर पुगेका छन् । ३५ शैयाको आईसोलेसनमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार गरिरहेको अस्पतालका लागि सिलिण्डर थप भएसँगै शैया थप्न सहज हुनेछ । सोमबार प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले मन्त्रालयले उपलव्ध गराएका सिलिण्डर बागलुङ ल्याएका हुन् । पोखरामा रहेको अक्सिजन प्लान्टबाट पाठकले २५ वटै सिलिण्डर भरेर ल्याएका थिए ।
‘नयाँ सिलिण्डर प्लान्टमा छोडेर रिप्लेस लिएर आएको हुँ’ पाठकले भने ‘अहिले आएका सिलिण्डर सरकारले चिनबाट पहिलो लटमा ल्याएकमध्ये भागलाग्दा अस्पतालको भागमा परेका सिलिण्डर हुन् ।’
सामाजिक सञ्जालमा प्रचार भएको जस्तो आफ्नो व्यक्तिगत खर्चमा सिलिण्डर नल्याएको पाठकले प्रष्ट पारे । सिलिण्डरसँगै अन्य केही स्वास्थ्य सामग्रीहरु मन्त्रालयले अस्पताललाई पठाएको छ । पाठकले अर्थ मन्त्रालयको स्वीकृतीसँगै अस्पतालमा अक्सिजन प्लान्टको स्तरोन्नतीको बाटो खुलेको भन्दै तत्काल प्रक्रिया अघि बढाउन आग्रह गरे । ‘काम समयमा थाल्ने हो भने २० दिनभित्र अक्सिजन प्लान्ट तयार हुन्छ, तर प्रक्रियाको बहनाबाजी गर्नु हुँदैन, समय संकटको छ’ पाठकले भने ।





