बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संक्रमणपछि अवहेलनाको त्रास

संक्रमणपछि अवहेलनाको त्रास


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७८, मंगलबार

सामाजिक अवहेलनाकै त्रासले कतिपय लक्षण भएका संक्रमितले जाँच गर्न नमान्ने, रोग लुकाउने गरिरहेका छन् ।
बागलुङ, ४ जेठ– झण्डै एक महिनाअघि बागलुङ नगरपालिका १४ नारायणस्थानमा कोरोना फैलियो । विदेशबाट आएका गाउँका केही युवाको सम्पर्कमा आएका शिक्षक र अभिभावकहुँदै बालबालिकामा भाइरस सरेको पाइयो ।
एकैपटक त्यहाँको एक विद्यालयका धेरै बालबालिकामा संक्रमण पुष्टि भयो । बालबालिकामा संक्रमण पुष्टि भएपछि केही आत्तिए । बाल मस्तिस्कमा कोरोनाको प्रभाव त रहयो नै त्यो भन्दा ठूलो प्रभाव उनीहरुले भोगेको अवहेलनाले पारेको छ ।
नारायणस्थानमा वैशाख ८ गते यता निरन्तर निषेधाज्ञा छ । निषेधाज्ञाको अवज्ञा गरेर आयोजना भएका विवाह, व्रतबन्ध, चौरासी पुजा जस्ता धार्मिक कार्यले कोरोना फैलाएको मात्रै छैन्, संक्रमणमुक्त भएर त्यस्ता कार्यक्रममा पुगेका बालबालिकामा मनोवैज्ञानिक असर समेत पु¥याएको छ ।
संक्रमणमुक्त भएका बालबालिकाहरुलाई समेत विभिन्न आक्षेप लगाउने र अवहेलना गर्ने काम भइरहेको छ । ‘नजिकै नपरेहुन्थ्यो जस्तो गर्ने, हामीले नजिक बसेर खाँदा पनि पर भाग भनेर ठुला मान्छेहरुले थर्काउने गर्नुहुन्छ,’ संक्रमण मुक्त भएका नारायणस्थान एक बालकले भने, ‘कोरोना त निको भएपनि हामीलाई ठुला मान्छेले सधैं यस्तै गर्नुहुन्छ ?’
समुदायस्तरमा कोरोना संक्रमण र त्यसपछिका सावधानीका विषयमा जानकारी नहुँदा परम्परागत शैलीमा अवहेलना हुने गरेको एक संक्रमित शिक्षकले बताए । ‘हैजा आउने बेला ओडारमा राखेका थिए भन्ने सुनेको, अहिले पनि सोच उस्तै छ,’ उनी भन्छन् ‘पाका मान्छेहरु त सम्झाउँन सक्छौं, तर केटाकेटीको बाल बस्तिस्कमा नकारात्मक असर पर्न सक्छ ।’
संक्रमित बालबालिका मात्रै होइन उनीहरुको परिवारलाई समेत अवहेलनाको व्यवहार गर्ने गरिएको छ । नामै कोरोना राख्ने, कोरोना गाउँको मान्छे भन्दै बोलाउने, कोरोना फैलाउनेहरु भनेर अरोप लगाउने लगायतका विभेद हुने गरेको उनीहरु बताउँछन् ।
नारायणस्थान मात्रै होइन, बागलुङमा पहिलो पटक कोरोना संक्रमित भएकी अंशु सापकोटाको गाउँ कुँडुलेले पनि अहिलेसम्म यो नियति भोग्दै आएको छ । धेरै संक्रमितले संक्रमण नभएकाहरुबाट माया र सद्भावभन्दा अवहेलना र दुव्र्यवहार बढी हुने गरेको बताउँछन् ।
बागलुङकै बरेङ गाउँपालिकामा संक्रमितलाई अवहेलनाको व्यवहार भएको भन्दै गाउँपालिकाले कारवाहीको चेतावनी दिएको छ । ‘संक्रमितको घरपरिवारलाई सान्त्वना दिनुको साटो अवहेलना गरेको पाइएको छ, यस्तो नगर्न भनेका छौं, अटेरी गरे कारवाही हुन्छ,’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने । निषेधाज्ञाको समयमा तरकारी, फलफूल, दूधजन्य पदार्थको खरिद बिक्रीका लागि बजार पुगेका संक्रमितका परिवारलाई बरेङ बजारका व्यवसायीले अवहेलना गरेका थिए ।
सामाजिक अवहेलनाकै त्रासले कतिपय लक्षण भएका संक्रमितले जाँच गर्न नमान्ने, रोग लुकाउने काम भएको स्वास्थ्य कार्यालय बागलुङको अनुमान छ । संक्रमितलाई एकान्तबासबाट समुदायमा पुनस्थापित हुन सबैले सहयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरे बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->