बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दाताले दिँदा एम्बुलेन्स, सञ्चालनमा आउँदा सार्वजनिक सवारी !

दाताले दिँदा एम्बुलेन्स, सञ्चालनमा आउँदा सार्वजनिक सवारी !


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ४ २०७८, मंगलबार
फाईल तस्विर : २०७५ सालमा एम्बुलेन्स लागि साँचो हस्तान्तरण गर्दै सन्स वल्र्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामाना लगायत ।

बागलुङ, ४ जेठ– दातासँग एम्बुलेन्स भनेर ल्याईएको गाडी भाडाको सवारीमा परिणत भएको छ । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकमा जापानको सामाजिक संस्था ‘सन्स वल्र्ड भिजन’ले एम्बुलेन्स भनेर अनुदानमा दिएको बुलेरो जीप सार्वजनिक सवारीको रुपमा प्रयोगमा ल्याईएको हो ।
२०७५ साल वैशाख पहिलो साता एम्बुलेन्स भन्दै दाताले हस्तान्तरण गरेको जीप एक महिना नबित्तै सार्वजनिक सवारीको रुपमा प्रयोगमा ल्याईएको थियो । संस्थाले स्थानीय सरस्वती प्राथमिक विद्यालयले सञ्चालन गर्नेगरी उक्त जीप हस्तान्तरण गरेको थियो ।
विद्यालयको भवन निर्माण गरिदिएको संस्थाले एकैपटक भवन र बुलेरो हस्तान्तरण गरेको थियो । ६५ लाख रुपैयाँ उपलव्ध गराएको संस्थाले ४० लाख विद्यालय भवन र २५ लाख रुपैयाँ एम्बुलेन्स लागि हस्तान्तरण कार्यक्रममा सन्स वल्र्ड भिजनका कार्यकारी प्रमुख काजु योसी यामानाले बताएका थिए । हस्तान्तरणको केही समयपछि दाताले एम्बुलेन्सका लागि आवश्यक रकम नदिएको भन्दै जीपलाई सार्वजनिक सवारीको रुपमा प्रयोग गरिएको हो ।
उक्त जीप साविकको दमेक गाविस वडा नं. ६ मा निर्माणाधिन लक्ष्मीनारायण पञ्चदेव मन्दिरको नाममा दर्ता छ । एम्बुलेन्स भनेर ल्याएको जीप मासिक भाडा असुल्ने गरी लक्ष्मी नारायण पञ्चदेव मन्दिर व्यवस्थापन समितिले व्यक्तिलाई सञ्चालनको जिम्मेवारी दिएको स्थानीय होमनाथ सापकोटाले बताए । ‘मलाई याद छ, पोखराको यादव ब्रदर्शबाट पुरा पैसा तिरेर जीप ल्याईएको हो’ सापकोटाले भने ‘अहिले पुरा पैसा नआएको भन्ने कुरा गलत हो ।’
कोरोना महामारीको समय सम्भावित परिस्थितीमा एम्बुलेन्स आवश्यक पर्ने भन्दै स्थानीयले दाताले दिएको एम्बुलेन्स खोजी गरेका छन् । एम्बुलेन्स खोजी हुँदा सार्वजनिक सवारी बनेको रहस्य बाहिर आएको हो । अहिले उक्त जीपले दमेकदेखि बागलुङका यात्रुहरु ओसारपसारमा प्रयोग हुँदै आएको छ ।
‘दाताले १० लाख रुपैयाँ मात्रै दिएको हो, बाँकी रकम मन्दिरले खर्चेको छ’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम सापकोटा भन्छन् ‘भन्सार छुटमा एम्बुलेन्स ल्याउने प्रक्रिया रोकिएपछि सोही जिप मन्दिरले सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स ल्याउनका लागि तयार भएका फाईल अहिले पनि प्रशासनमा अड्किएका छन् ।’ जैमिनी नगरपालिका -२ वडा सदस्य समेत  रहेका सापकोटाकै पहलमा विद्यालय भवन निर्माण र एम्बुलेन्स खरिदका लागि आएको थियो । जापानमा रहेका सोही ठाउँका बिष्णु सापकोटाले संस्थासँग समन्वय गरेर ६५ लाख रुपैयाँ गाउँ भित्राएका थिए ।
हस्तान्तरण समारोहमा ३५ लाखको भवन र २५ लाखको जीप भनेर विवरण सार्वजनिक गरेकाहरुले नै अहिले भवनका लागि ५५ लाख खर्च भएको दाबी गर्न थालेका छन् । सार्वजनिक सवारीको रुपमा प्रयोग भएको जीपबाट हुने आम्दानी मर्मत र मन्दिरको ऋण चुक्तामा खर्च हुने गरेको सापकोटाले बताए । ‘बिरामी लानु परे आधा भाडा छुट हुन्छ, वडा भित्रका जेष्ठ नागरिकलाई निशुल्क बोक्ने गरेको छ’ सापकोटाले भने ‘एम्बुलेन्स भनेको होईन मन्दिरले चलाउनेगरी ल्याईएको हो ।’ दमेकका स्थानीयले भने मासिक ३५ देखि ४० हजार रुपैयाँ लिनेगरी व्यक्तिलाई चलाउन दिएको बताउने गरेका छन् ।
एम्बुलेन्स भनेर ल्याएको सवारी भाडामा सञ्चालन हुँदै आएको विषयमा आँफुलाई जानकारी नभएको वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले बताए । जैमिनी नगरपालिकालाई समेत जानकारी गराएको मन्दिरले बताएपनि एम्बुलेन्स वा मन्दिरको सार्वजनिक सवारी हो भन्ने विषयमा नगरले खोजी गरेको छैन । हस्तान्तरण समारोहमा नगरप्रमुख इन्द्रराज पौडेल, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल लगायतले दमेकले एम्बुलेन्स पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->