पोखरा,४ जेठ–अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोभिड– १९ को दोस्रो लहरको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण जुन थर्ड अर्थात अन्नपूर्ण आरोहण दिवसको अवसरमा आयोजना हुदौँ आएको म्याराथन स्थगित गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ । समितिका अध्यक्ष ललित गुरुङले तेस्रो संस्करणका कार्यक्रम गर्ने तयारी गरिएको भएपनि ती सबै कार्यक्रम स्थगित गरिएको एक विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण अन्नपूर्ण आरोहण दिवसको अवसरमा यस समितिद्वारा २०७८ साल जेष्ठ १८ देखि २० गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना गर्ने तयारी गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ। अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै हुँदै आएको थियो । अहिलेको प्रतिकूल परिस्थितिका कारण यसवर्षको कार्यक्रम स्थगित भए पनि आमागी वर्षमा पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष गुरुङले बताए। अन्नपूर्ण म्याराथन तथा पर्यटन महोत्सवका लागि विनियोजित रकम आगामी वर्षमा समेत निरन्तरका लागि समतिले अनुरोध गरेको छ ।





