पोखरा, ४ जेठ– डा. भगवान कोइरालाले २ वर्षअघि सातै प्रदेशमा विशिष्टकृत बाल अस्पताल बनाउने घोषणा गरे । अस्पताल बनाउन जग्गा खोजिरहेका डा. कोइरालाले साविकको लेखनाथ नगरपालिका रहेको भवन रोजे । भवनसँगै रहेको ३७ रोपनी जमिनमा अस्पताल बनाउन २०७६ फागुन ११ गते सम्झौता गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साक्षी राखेर डा. कोइराला र पोखरा महानगरका मेयर मानबहादुर जिसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । तत्कालिन पोखरा उपमहानगर र लेखनाथ नगरपालिका मिलेर पोखरा महानगर बनेपछि उक्त भवन पोखरा– २७ को वडा कार्यालयमा सिमित भएको थियो ।
वडा कार्यालयले भवन पूर्ण रुपमा प्रयोग गर्न सकेको थिएन । अस्पताल बनाउन डा. कोइराला र लेखनाथमा पर्ने वडा नं. २६, २७ र ३० का वडा अध्यक्षदेखि उद्योग वाणिज्य संघका पदाधिकारीले छलफल गरेका थिए । सोही भवन दिनेबारे उनीहरुले निर्णय गरेका थिएनन् ।
मेयर जिसी र डा. कोइरालावीच सम्झौता भएपछि लेखनाथका वडाध्यक्षहरुले सल्लाहबिना नै सम्झौता गरेको भन्दै असन्तुष्टि जनाए । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष रहेका डा. कोइरालाले अस्पतालको काम अघि बढाएनन् ।
‘मेयर साबले सल्लाह नै नगरी एकलौटी निर्णय गर्नुभयो, हामीले त्यसको विरोध जनाएका थियौं’, वडा नं. २७ का वडा अध्यक्ष पूर्ण गुरुङले भने । डा. कोइरालालाई अस्पताल बनाउन दिएको जग्गा र भवनमा कुनै काम अघि नबढेपछि पोखरा महानगरले गत बर्ष सोही जग्गामा महानगरीय अस्पताल बनाउने निर्णय ग¥यो । तर, काम भने अघि बढेको थिएन ।
महानगरको कार्यपालिका बैठक र नगरसभाबाट उक्त निर्णय भएको थियो । नगरपालिकाकै अर्को अस्पताल शिशुवा अस्पताल मातहत रहनेगरी लेखनाथ नगरपालिका भवनमा महानगरीय अस्पताल बनाउने निर्णय भएको वडा अध्यक्ष गुरुङले बताए ।
‘आगामी वर्षदेखि अस्पताल चलाउन बजेट छुट्याउने योजनामा थियौं’, गुरुङले भने, ‘अस्पतालका लागि चाहिने अरु भवन बनाउन पनि स्टिमेट गर्दैथियौं ।’
पोखरा महानगरले अहिले सोही भवनमा कोभिड–१९ का बिरामी राख्ने गरी अस्पताल बनाउन थालेको छ । उक्त भवनमा रहेको पोखरा–२७ को वडा कार्यालय तालचोक स्थित छुट्टै भवन भाडामा लिएर चलाउने निर्णय गरेको छ । भाडामा लिएको भवनमा अहिले पाटेशनको काम अघि बढाउन लागेको वडाध्यक्ष गुरुङले बताए ।
नगरपालिकाको भवनलाई अस्पताल बनाउन महानगरले थालेको प्रयासलाई लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बि १ ले सघाएको छ । आइसोलेसनको ५० बेड, सर्जिकल सामाग्री, ३ वटा भेण्टिलेटर, ६ वटा आइसीयू बेडलगायत बनाउन सहयोग गरेको लायन्सका सिनियर लिडर मोहनबाबु खड्काले बताए ।
उनका अनुसार उक्त कोभिड अस्पताल बनाउन लायन्स इन्टरनेशनलबाट १६ हजार डलर बराबरको सामग्री आउँदैछ । यस्तै, लायन्सले ३५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने तयारी गरेको उनले बताए ।
‘बेड राख्न र अरु सामग्री काठमाडौंबाट मगाइसकेका छौं’, खड्काले भने,‘बढीमा २ हप्ताभित्रै कोभिड अस्पताल संचालनमा आउँछ ।’महानगरसँग मिलेर लायन्सले बनाउन लागेको अस्पतालमा अक्सिजन पाइप लाइन जोड्ने र बेड बनाउने काम थालिसकेको उनले बताए ।
यता, पोखरा महानगरले अहिले कोभिड अस्पतालका रुपमा सुरु गरेर भविश्वमा पनि अस्पतालकै रुपमा विकास गर्ने जनाएको छ । उक्त भवनलाई अस्पताल बनाउने यसअघि भएको निर्णय अहिले कोरोना महामारीका बेला कार्यान्वयन गरिहाल्नुपर्ने अवस्था आएको महानगरका मेयर मानबहादुर जिसीले बताए ।
जिसीले उक्त कोभिड अस्पताल बनाउन झण्डै २ करोड खर्च लाग्ने बताए । ‘हामीले विभिन्न संघ, संस्थासँग मिलेर कोभिड अस्पताल बनाउन लागेका छौं’, उनले भने, ‘त्यसका लागि महानगरले मात्रै २ करोड जति खर्च गर्छ ।’ उनले पनि २ साताभित्रै बिरामी राख्ने गरी काम अघिबढाएको बताए ।
अहिले कोभिड अस्पताल भनिएपनि अबदेखि उक्त अस्पताल पोखरा महानगरीय अस्पतालका रुपमा निरन्तरता दिने उनले बताए । महानगरको शिशुवा अस्पताल मातहत रहने गरी उक्त अस्पताल संचालन गरिने मेयर जिसीले जानकारी दिए ।
मणिपालसँग रोटरीको सहकार्य
पोखराको मणिपाल शिक्षण अस्पतालसँग सहकार्य गरेर रोटरी इन्टरनेशनल ३१९२ ले रोटरी मणिपाल कोभिड सेन्टर बनाएको छ । उक्त सेन्टरमा अक्सिजन बैंकसहित १४० बेड छन् । आवश्यकता अनुसार बेड थप्दै जाने रोटरी इन्टरनेशनलका ३१९२ का पूर्व गभर्नर किरणलाल श्रेष्ठले बताए ।
मणिपाल कोभिड सेन्टर बनाउन २० लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । अस्पतालमा ४ वटा भेण्टिलेटर, ३ महिनालाई आवश्यक पीपीई सेट लगायतका सामाग्री छिट्टै ल्याउने र मणिपालसहित पोखराका अन्य अस्पताललाई वितरण गर्ने उनले जानकारी दिए ।
नेपालभरीका रोटरी क्लब मार्फत विभिन्न स्वास्थ्य संस्थालाई पनि रोटरीले सहयोग अभियान चलाएको छ । श्रेष्ठका अनुसार नेपाली सेनासँग मिलेर आइसोलेसन सेन्टर बनाउने, बिरामी र कुरुवालाई खाना खुवाउने र देशभरका अस्पतालका लागि १२५ वटा भेन्टिलेटर चीनबाट मगाएको छ । जसमध्ये ४० वटा भेण्टिलेर पोखराका स्वास्थ्य संस्थालाई हस्तान्तरण गर्ने पूर्व गभर्नर श्रेष्ठले बताए ।
उक्त भेण्टिलेटर संक्रामक तथा सरुवा रोग अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मादी गाउँपालिका, पर्वत लगायतका ठाउँमा पठाउने रोटरीको योजना छ । यस्तै, मिनी अक्सिजन प्लान्ट ल्याउन जापानका रोटरीले सहयोग गर्ने उनले जनाएका छन् । मणिपाल अस्पतालसँग मिलेर कोरोना संक्रमितलाई सहयोग गर्न हेल्पलाइन चलाउने तयारी पनि रोटरी इन्टरनेशनलले गरेको छ ।
कोरोनाका बिरामीलाई अस्पताल ल्याउन एम्बुलेन्स सहयोग गर्नेदेखि आर्थिक अवस्था कमजोर रहेका बिरामीको निशुल्क उपचारमा सहयोग गर्ने उनले जनाए । ‘बिरामीको अवस्था हेरी हामीले सहयोग गर्ने हो’, उनले भने, ‘अक्सिजन नभएका ठाउँमा अक्सिजन र एम्बुलेन्स आवश्यक परे एम्बुलेन्स र आर्थिक अवस्था कमजोर भएका बिरामी लाई निःशुल्क उपचारको व्यवस्था गर्छौ ।’
रोटरी इन्टरनेशनलले कोरोनाको खोप ल्याउनसमेत तयारी गरेको श्रेष्ठले बताए । रोटरी इन्टरनेशलन २०२१÷२२ का अध्यक्ष भारतीय नागरिक शेखर मेहता रहेको र खोप ल्याउन मेहतासँग छलफल भइरहेको श्रेष्ठले बताए । ‘१४ वर्ष अघि नेपाल र भारत रोटरीको एउटै डिष्ट्रिक थियो, त्यसबेला उहाँ नै अध्यक्ष हुनुहुन्थ्यो’, श्रेष्ठले भने, ‘उहाँले नेपाललाई साह्रै माया गर्नुहुन्छ, उहाँ मार्फत् खोप ल्याउन हामीले प्रयास गरेका छौं ।’
गण्डकी अस्पतालमा अक्सिजन प्लान्ट
यता, पोखराका केही व्यापारिक घरानाहरुले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लाण्ट स्थापनाको अभियान चलाएका छन् । बतास फाउण्डेसनको अगुवाइमा सुरु भएको यो अभियानबाट करिब ३ करोड संकलन भइसकेको छ । प्लाण्ट स्थापना गर्न ५ करोड लाग्ने र ९० दिनभित्र स्थापना भइसक्ने बतासले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । अभियानमा झण्डै २ सय जनाले सहयोग गरेका छन् । गण्डकीमा निजी क्षेत्रले अक्सिजन प्लाण्ट राख्ने अभियान चलाइरहँदा त्यहीँका डाक्टरहरुका कारण यसअघि नै स्वीकृत भएको अक्सिजन प्लाण्टको परियोजना रोकिएको सार्वजनिक भएको छ ।
कोभिडविरुद्धको अभियानमा सरकारीसँग जोडिन सामाजिक संघसंस्थादेखि व्यापारिक घरानासम्म जोडिएका छन् । यसअघि कोभिडको पहिलो चरणमा पनि यसरी नै निजी क्षेत्रले तातिएका थिए । तर, ती निजी क्षेत्रको उपस्थिति भने प्रष्ट देखिएको छैन । महामारीको समयमा चर्चाकै लागिमात्र हो कि भन्ने आशंका सरोकारवाला निकायलाई छ ।





