बागलुङ, ५ जेठ– अर्थ मन्त्रालयले धौलागिरि अस्पतालका लागि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ३ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम अस्पतालमा आउनका लागि तोकिएको कार्ययोजनासहित कार्यक्रम बनाउनु पर्नेछ ।
धौलागिरि अस्पताल व्यस्थापन समिति र अस्पताल प्रशासनले नयाँ कार्ययोजना निर्माणको काम थालेको छ । सोमबार बसेको व्यवस्थापनको बैठकले कार्ययोजना बनाएर सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको अस्पतालका अध्यक्ष केवी रानामगरले बताए ।
उनले ३ करोड रुपैयाँमध्ये डेढ करोड रुपैयाँ अस्पतालमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान गर्नेमा खर्च गर्ने योजना बनाइने सुनाए । ‘भर्न पनि मिल्ने गरी नयाँ अक्सिजन प्लान्ट बनाउने कार्यक्रम छ, त्यसका लागि चिनियाँ प्रविधिको प्लान्ट बनाइने छ’ रानामगरले भने, ‘छिटो बनाउन सकिने र तत्काल भेटिने जनशक्ती प्रयोग गर्दा बन्ने प्लान्टले अस्पतालमा थप बिरामीको उपचारमा सहयोग पुग्ने उनले बताए ।
यसअघि बनेको प्लान्टबाट अस्पतालको २५ वटा बेडमा मात्रै अक्सिजन दिन सकिएको छ । अन्य बिरामीलाई सिलिण्डरबाट अक्सिजन दिइएको हो । सिलिण्डरबाट दिंदा तत्काल सकिने समस्याले पटक पटक पोखरा पुगेर भर्नुपर्ने बाध्यता छ । एकैछिन ढीला भएमा पनि बिरामीलाई खतरा भएपछि अस्पतालले पहिलो प्राथमिकतामा सबै बेडमा अक्सिजन पु¥याउने लक्ष राखेको हो ।
बाँकी डेढ करोड रुपैयाँबाट कोभिड नियन्त्रणकै नयाँ कार्यक्रम, सामग्री र उपकरण खरिदमा लगाइने मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनले अस्पतालमा नियमित रुपमा पीपीई र अन्य स्वास्थ्य सामग्री अभाव भएको र आइसियु लगायतका वार्डमा सुविधा थप गर्नुपर्ने आवश्यकता रहेको सुनाए । त्यसका लागि सबै बसेर अत्यावस्यक सामग्री, उपकरण समेतको नामाबली उतार्ने बताए ।
‘घर बनेर मात्र सबै उपचार सम्भव नहुने भएकोले ससानो उपकरणको नामावली तयार गरेर पठाउने काम थालेका छौं,’ उनले भने, ‘सामाजिक विकास मन्त्रालयको खातामा आउने बजेट ल्याउनुपर्ने भएकोले चाहिएको बेला सामान खोज्न मिलेन, आवश्यक पर्ने अहिले नै कन्फर्म गर्नुपर्छ ।’ सरकारी संयन्त्रमा रकम निकाल्न लामो प्रक्रिया हुने भएकोे समयमै अत्यावस्यक सामग्री संकलन गर्ने योजना उनले सुनाए ।
अस्पतालमा दैनिक हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी बढिरहेका छन् । कोरोना संक्रमणले बढेका बिरामीलाई नियमित हेर्नका लागि दक्ष जनशक्तिसमेत अभाव छ । सामाजिक विकास मन्त्रालयले अस्पतालमा आवश्यक पर्ने दक्ष जनशक्ती नियुक्तिका लागि बाटो खोलिदिएको छ । अस्पताल व्यवस्थापनले पटक पटक मन्त्रालयको ध्यानाकर्षण गरेपछि उक्त बाटो खोलिदिएको हो ।
अस्पतालमा डाक्टर र नर्सको अभाव भएपछि थोरै जनशक्तीले २४ सै घण्टा खटिनु परेको थियो । मन्त्रालयले करारमा अत्यावस्यक कर्मचारी भर्ना गर्न बजेट समेत विनियोजन गरेपछि अस्पतालले तयारी थालेको अध्यक्ष रानामगरले बताए । ‘हामीले डाक्टर र नर्स इन्चार्जसँग कुन क्षमताको जनशक्ति भएमा अत्यावश्यक सेवा सहज बनाउन सक्छौं, सल्लाह गर्दैछौं,’ रानामगरले भने, ‘केही दिनमै आवश्यक कर्मचारी भर्ना गरेर काम लिने योजनामा छौं ।’
अस्पतालले नर्स र हेल्थ असिस्टेन्ट तहसम्मको कर्मचारी आफ्नै आवस्यकताको आधारमा नियुक्ती गर्न पाउने अधिकार पाएपछि विज्ञापन समेत गरिसकेको उनले जानकारी दिए । डाक्टरका लागि भने मन्त्रालयले छनौट गरेर मात्रै पठाउने कानूनी व्यवस्था छ । अस्पतालमा दुई महिनादेखि मेडिकल अधिकृतहरुको आवस्यकता खड्केको छ । १४ जना मेडिकल अधिकृत रहेको अस्पतालमा अहिले ४ जना मात्रै छन् । अधिकांस डाक्टरहरु पढ्ने बाहनामा फिर्ता भएका छन् ।
सरकारले धौलागिरि अस्पताललाई ‘ग’ बाट ‘ख’ वर्गमा बढुवा दिएपछि नम्बर खोज्न आएका मेडिकल अधिकृत फिर्ता भएका हुन् । उनीहरु गएपछि अस्पतालको ओपिडी, इमरजेन्सी र अन्य वार्डमा खटिएका मेडिकल अधिकृत खाली भएको हो । उनीहरुको अभाव भएपछि विशेषज्ञ डाक्टरहरुले आइसोलेसन, विशेषज्ञ सेवादेखि सबै प्रकारका काम गर्नुपरेको डा. पोखरेलले बताए ।





