पोखरा, ५ जेठ– पुनर्गठित गण्डकी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ता रुपमा मन्त्री रामशरण बस्नेतलाई तोकेको छ । उनी पहिले पनि प्रदेश सरकारको प्रवक्ता उनैले सम्हालेका थिए ।
प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गिरिधारी शर्मा र सदस्यको विष्णुराज बराल चुनिएका छन् । उनीहरु पनि पुरानै जिम्मेवारीमा दोहोरिएका हुन् । त्यस्तै, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा सुन्दरबजार वडा ३ का डा भीष्म अधिकारीलाई नियुक्त गरेको छ । यसअघि मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली थिए ।
बैठकले पोखरा स्वास्थ्य विज्ञान अस्पताललाई कोभिड अस्पताल बनाउन सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।
पुनर्गठित मन्त्रिमण्डलमा अर्थमन्त्रीका रुपमा किरण गुरुङकोमात्रै जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री गुरुङले बाँकी ४ मन्त्रीलाई भने बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् । आजै बस्ने पहिलो मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुको जिम्मेवारी तोक्ने बताइएको थियो । तर, तोकिएको छैन । सरकारका प्रवक्ता रामशरण बस्नेतले भोलि ९बिहीबार०सम्म मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड भइसक्ने जानकारी दिए ।
‘अब केही मन्त्रालयहरु थप्ने तयारीका साथ कार्य विभाजन नियमावली संसोधन गरेका हौं,’ प्रवक्ता बस्नेतले भने, ‘मन्त्रीज्यूहरुको कार्य विभाजन छिटै हुन्छ । भोलिसम्म आआफ्ना मन्त्रालयमा जाने स्थिति बनिसक्छ ।’





