बागलुङ, ५ जेठ– परिवारमा कोरोना संक्रमण पुष्टि भएपछि कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रका एक स्वास्थ्यकर्मीलाई स्थानीयले अवहेलना गरेका छन् । अत्यावश्यक खाद्यान्न खरिद गर्न समेत रोक लगाएको पीडित स्वास्थ्यकर्मीले बताए ।
‘मैले सधैं दुध ल्याउने ठाउँबाट समेत दुध दिईएन, तरकारी खरिद गर्न निस्किँदा अवहेलना गरेर बोलाउँछन्’ पीडित स्वास्थ्यकर्मीले भने ‘हामी जसको लागि बचाउन दिनरात खटिएका छौं, उहाँहरुबाट नै बिभेद भैरह्यो ।’ उनको परिवारमा रहेका तीन जनाको स्वाव परीक्षणका लागि पठाईएकोमा श्रीमती र छोरामा संक्रमण पुष्टि भएको छ । उनको भने रिपोर्ट नेगेटिभ आएको छ ।
‘छुट्टै आईसोलेसन बनाएर घरमै बसेका छन्, म स्वास्थ्य केन्द्रमै धेरै समय रहन्छु’ उनले भने ‘नियममित दुध खाईराखेको ठाउँमा रोक लगाईयो, अन्यत्र त दिने कुरानै भएन् ।’
स्वास्थ्यकर्मीलाई अबहेलना भएको विषयमा आँफुहरु जानकार नरहेको जैमिनी नगरपालिकाले जनाएको छ । ‘मलाई केही थाहा भएन, के भएको रहेछ वडा अध्यक्षलाई बुझ्न लगाउँला’ नगर प्रमुख इन्द्रराज पौडेलले भने ‘स्वास्थ्यकर्मीलाई निरुत्साहन गर्नु हुँदैन्, यथार्थ बुझेर कारवाही हुन्छ ।’ परिवारमा कोरोना संक्रमित भएको भन्दै स्वास्थ्यकर्मी माथि नै भेदभाव भएको हो ।





