शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अस्पतालबाट आउने धुँवाले स्थानीय आजित

अस्पतालबाट आउने धुँवाले स्थानीय आजित

‘धुँवाको मुस्लोनै भान्छामा पुग्छ, झ्याल ढोका बन्द गरेर कति दिन बस्नु ? अस्पतालले अव्यवस्थित हिसाबले फोहोर जलाउँदा आसपासका घरहरुमा बसिनसक्नु भयो ।’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार

बागलुङ, ५ जेठ– ‘मध्य रातमा घरभित्र पस्ने धुलोसहितको धुँवाले दमको समस्या भएका जेष्ठ नागरिकलाई सास फेर्नै कठिन बनाउँछ । जलेर पड्किने बोटलहरु र प्लास्टिकको आवाजले बम पड्केको महसुस हुन्छ । स–साना केटाकेटी कयौं पटक झस्किएका छन् ।’
बिहान–बेलुका रात–साँझ हावा चल्दा मात्रै होइन आकाशस्थिर रहेकोबेला समेत घरभित्र पस्ने धुँवाले बागलुङ नगरपालिका–२ मरेपीपलका सर्वसाधारण आजित भएका छन् । यो समस्या हो बस्तीको माझमा रहेको धौलागिरि अस्पतालको फोहोर व्यवस्थापन ।
अस्पतालको पूर्वपट्टिको एउटा भवनमा संक्रमणजन्य फोहोरहरुको विसर्जन हुने गरेको छ । आगो लगाएर हुने विसर्जनबाट निस्किएको धुँवाले घरमा बस्नै कठिन हुने गरेको मरेपिपल स्थानीय रामचन्द्र गौतमले बताए । ‘धुँवाको मुस्लोनै भान्छामा पुग्छ, झ्याल ढोका बन्द गरेर कति दिन बस्नु ?’ गौतम भन्छन् ‘अस्पतालले अव्यवस्थित हिसाबले फोहोर जलाउँदा आसपासका घरहरुमा बसिनसक्नु भयो ।’
स्थानीयले धुँवाको व्यवस्थापनका लागि अस्पताल व्यवस्थापनलाई पटक पटक अनुरोध गरेका छन् । आफूहरुको समस्यामा अस्पताल प्रशासन गम्भीर नभएको स्थानीयको आरोप छ । संयुक्त र एकल रुपमा पटक पटक फोहोर जलाउने कामको व्यवस्थापन गरेर धुँवाको मुस्लोबाट पीडित नगराउन आग्रह गर्दा समेत नमानेको भन्दै गौतमले बुधबार फोहोर व्यवस्थापन सम्बन्धि निर्देशिका वा मापदण्ड मागेका छन् ।
‘अहिले अस्पताललाई अप्ठ्यारो पर्नेगरी समूहमा आएर दवाव दिने समय होइन,’ गौतमले भने ‘मापदण्ड पनि हेरौं के रहेछ, कोभिड मत्थर भएपछि गम्भीर हिसाबले कुरा गर्नुपर्छ ।’ उनले अस्पताल व्यवस्थापन र प्रशासनलाई स्थानीय सबैको प्रतिनिधित्व गर्दै तत्काल फोहोर जलाउने काम रोक्न ध्यानाकर्षण समेत गराएका छन् ।
अस्पतालले कोभिड–१९ संक्रमितको उपचार तथा अन्य संक्रामक रोगको उपचारमा प्रयोग भएका स्वास्थ्य सामग्रीहरुको उक्त स्थानमा जलाएर बिसर्जन गर्ने गरेको छ । ‘अन्य फोहोर हामीले फोहोर व्यवस्थापन युनिट बनाएर व्यवस्थापन गरेका छौं,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले भने, ‘कोभिडका बिरामीको उपचार पश्चात निस्किने फोहोर मात्रै त्यहाँ जलाउने गरिएको छ ।’ बस्तीको नजिक अस्पताल रहेकाले संक्रामक फोहोर व्यवस्थापनको अन्य उपाय नरहेको उनको भनाइ छ ।
‘हामीले चिम्नी राखेर जलाउने योजना पनि बनायौं तर सरकारले रोक्यो,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले भने ‘यो समस्या हामी छिट्टै बिकल्पको खोजी गरेर समाधान गर्छौं ।’ प्लास्टिक तथा अन्य फोहोरहरुलाई उच्च प्रविधिबाट विसर्जन गर्ने विधि र उपकरणको समेत खोजी भइरहेको रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->