नवलपुर, ७ जेठ– ठूलालाई चैन, सानालाई ऐन भन्ने उखानको चरितार्थ कोरोना भाइरस नियन्त्रण र रोकथाममा पनि लागु भएको छ । नवलपुरको देवचुलीमा रहेको सिजी उद्योगले अत्यावश्यक बाहेकका अन्य सेक्सन समेत सञ्चालन गरेर यो उखानलाई पुष्टि गरिदिएको छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गर्न अपिल गरिसकेको छ । सरकारी अपिललाई साना–मझौला उद्योगी, ब्यवसायी र व्यापारीले आफ्ना गतिविधिलाई पूर्ण रुपमा बन्द गर्दा देशकै चर्चित चौधरी उद्योग निर्वाध सञ्चालनमा आइरहेको छ ।
त्यसो त सरकारले अत्यावश्यक बस्तुका उत्पादन गर्ने उद्योगलाई सञ्चालनको अनुमति भएको आधारमा उद्योग सञ्चालन गरिएको र स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेरै उद्योग चलाएको रट उद्योग प्रशासनले गर्दछ । जिल्लाभित्रका उद्योगको अनुगमन–निरीक्षणका साथै कार्वाही गर्नेसम्मको अधिकार पाएको जिल्ला प्रशासन कार्यालयले समेत प्रक्रियाका लागि अनुगमनबाहेक माथि उठेर प्रश्न गर्न सक्ने हैसियत प्रशासनसँग नरहेको नागरिकहरुको गुनासो छ ।
दुम्कौलीमा रहेको सिजी उद्योगमा फुड–वेभरेज (चाउचाउ,जुस) ब्रुअरी (वियर) र प्याकेजिङ (कार्टुन) उत्पादन गर्ने टोबाको (चुरोट) लगायत ७ सेक्सनमा २ हजार बढी मजदुर–कर्मचारी कार्यरत छन् । २४ सै घण्टा २ सिफ्टमा चलिरहेको उद्योगमा गैंडाकोटदेखि कावासोतीसम्मका मजदुर–कर्मचारी दैनिक आवतजावत गर्दा समुदायमा संक्रमणको जोखिम बढेको सुन्दरबस्ती टोल सुधार समितिका अध्यक्ष विनोद सिलवालले बताए ।
दैनिक १५–२० वटा भारतीय ट्रक कच्चा पदार्थ लिएर कारखाना प्रवेश गर्ने र पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म ढुवानीमा पुग्ने ट्रकहरुका चालक एवं उनीहरुसँगको नजिकको सम्पर्कमा रहेर दैनिक काम गर्ने उद्योगतर्फका लोड–अनलोडका मजदुरसम्मलाई क्वारेन्टिन व्यवस्थापन मिलाउन उद्योग वरिपरीका टोल सुधार समिति र वडा नं. २ वडा समितिले आग्रह गर्दा उद्योगले वेवास्ता गरेको वडाध्यक्ष माधव केसीले बताएका छन् ।
कोरोना संक्रमण समुदायवाट उद्योगभित्रै भित्रिन पनि सक्ने वा उद्योगबाट समुदायमा पनि फैलिन सक्ने हुनाले २ हप्ता मात्रै कि त उद्योग बन्द गर्न वा चेनब्रेककै लागि आवश्यक मजदुर कर्मचारी मात्रै उद्योगभित्रै राख्ने व्यस्थापन मिलाउन समेत उद्योग प्रशासन समक्ष गरिएको आग्रहसमेत लत्याएको नेपाली कांंग्रेस वडा समिति सभापति भेषराज न्यौपानेले बताएका छन् ।
कम्पनीका अधिकृत तहका कर्मचारीहरुको बारम्बार पीसीआर परीक्षण गरी स्वास्थ्य सतर्कता अपनाउने र संक्रमित पुष्टि भए उनीहरुको चाहना अनुसार होम आसोलेसन वा कम्पनीभित्रैको आइसोलेसन प्रबन्ध मिलाएपनि तल्लो तहका मजदुर–कर्मचारीलाई कोभिड लक्षणको शंकाका भरमै विना परीक्षण बिदामा घर पठाइँदिँदा स्थानीयमा त्रासको स्थिति सिर्जना भएको नेकपा एमाले वडा कमिटि अध्यक्ष बद्रि कोइरालाले बताए ।उद्योग प्रशासनले स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर उद्योग सञ्चालन गरेको उद्योगका प्रशासन प्रमुख दामोदर पौडेलले जिकिर गरेका छन् ।





