
बागलुङ, ७ जेठ– होम आइसोलेसनलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र स्वास्थ्यकर्मीले घरभेट कार्यक्रम सञ्चालन गरेका छन् । बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका लगायतका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले संक्रमितको अवस्था बुझ्न घरदैलो कार्यक्रम थालेका हुन् ।
बागलुङ नगरपालिका वडा नं. १, २ र ३ का वडा अध्यक्ष तथा जनप्रतिनिधिले यो अभियानलाई तीब्रता दिएको बताए । घरभेटमार्फत संक्रमितको अवस्था बुझ्ने र सहयोज जुटाउने काम भइरहेको छ । ‘बिरामीको घरमा पुगेर अक्सिजनको अवस्था, अन्य समस्या तथा घरपरिवारमा भइरहेको सर्तकताबारे बुझेका छौं,’ बानपा ३ की अध्यक्ष लक्ष्मी बास्कोटाले भनिन्, ‘जनप्रतिनिधिको रुपमा संक्रमितको अवस्था बुझ्दा उनीहरुमा हौसला थपिएको पाइयो ।’
बानपा २ का वडा सदस्य अर्जुन घिमिरेले पनि संक्रमितलाई परेका अप्ठ्याराबारे जानकारी लिन घरभेट अभियान बनाएको बताए । नगरपालिका ठेगाना भएका र बाहिर ठेगाना भएपनि बजार क्षेत्रमा डेरामा बस्नेहरु धेरै छन् । उनीहरु बसेकै कारण सामाजिक अपहेलना नहोस्, स्वास्थ्यका मापदण्ड पालना होस भन्ने सुझावका लागि भेटघाटमा लागेको उनले बताए ।
कोरोना संक्रमणले नियमित औषधि सेवन गरेकाहरुको समस्या पनि बुझेको घिमिरेले बताए । ‘सुगर, प्रेसर लगायतका औषधि खाएकाहरुको सकिएको छ, घर परिवारबाटै बेवास्ता भएको रहेछ भने अन्य दुर्घटनाको खतरा हुन्छ,’ घिमिरेले भने, ‘कतिपयलाई औषधि ल्याएर दिने काम पनि गरेका छौं ।’ जटिल समस्या भएकालाई अस्पताल जान सल्लाह दिएको अध्यक्ष बास्कोटाले बताइन् ।
घरभेटमा नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल र जनस्वास्थ्य निरीक्षक डिल्ली आचार्य सहभागी छन् । उनीहरुले स्वास्थ्य सल्लाह दिदै दिर्घरोगको औषधी खान छोडेकालाई निरन्तरता दिन लगाइएको छ । ‘परिवारको माया भएकाहरु अधिकांस घरमा बसेर पनि स्वास्थ्य मापदण्ड पालना गरेको देखियो,’ खनालले भने, ‘केहीले भने लापरबाही गरेका छन् ।’ अस्पतालमा ठाउँ छैन भनेकै कारण होम आइसोलेसनको सुविधा पाएका हौं भन्ने कुरा धेरैले बिर्सेका छन् ।
होम आइसोलेसनले सामान्य बिरामीहरु छिटो निको समेत भएको भेटिएको खनालले बताए । ‘घर परिवारमा बस्ने, चाहेको बेला खाना खाने र पोषिलो खाने गरेको भेटिए’ उनले भने, ‘आत्मबल बलियो बनाउन होम आइसोलेसनको अबधारणा राम्रो छ ।’
यस्तै, बडिगाड गाउँपालिकाका जनप्रतिनिधिले पनि संत्रमितको घरमा परेको अप्ठ्यारोबारे चासो राखेर साथ दिएका छन् । वडा नं. ४ का अधिकांश घरघरै बिरामी र संक्रमित भएकोले उनीहरुको लागि औषधि तथा अन्य अत्यावस्यक वस्तु लैजाने काममा साथ दिएको उपाध्यक्ष अमरबहादुर श्रीषले बताए । श्रीष आफंै स्वास्थ्यकर्मी समेत हुन् । ‘सबै घरमा बसिदिंदा संक्रमण फैलिन पाउँदैन भनेर टिम बनाएर परिचालन गरेका छौं’ उनले भने ।





