बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पीसीआर परीक्षण नबढ्दा गाउँभरी संक्रमित

पीसीआर परीक्षण नबढ्दा गाउँभरी संक्रमित


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ७ २०७८, शुक्रबार

बागलुङ, ७ जेठ– ढोरपाटन नगरपालिकामा तत्कालिन गाविस अध्यक्षसहित ४ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । मृत्यु हुनेमा दुई जना युवा छन् ।
संक्रमण भुसको आगोझै सल्किएपनि नगरपालिकाले पीसीआर गर्ने काममा अझै आलटाल गरिरहेको छ । पटक पटकका दवाव र आग्रहपछि छिटफुट परीक्षण भएपनि नगरका जनप्रतिनिधिले अझैपनि चासो देखाएका छैनन् ।
विवादका बीच गरिएका केही परीक्षणमा ८० प्रतिशतसम्म संक्रमित भेटिएका छन् । तरपनि अझै चासो नबढाएकोले जनताले घरघरमा मर्नुपर्ने खतरा बढेको टिप्पणी हुन थालेको छ । ‘परीक्षणको दायरा बढाएमा मात्रै समयमा संक्रमित भेटिएर उपचार गर्न पाइन्छ, तर अभैmपनि परीक्षण नगरी टार्ने प्रवृत्ति देखिएको छ’ एक स्वास्थ्यकर्मीले भने, ‘समयमा जानकारी नभएकोले ठिकै जस्तो लाग्ने युवाहरुले मृत्युवरण गरिरहेका छन् ।’ सचेतना नभएपछि ज्वरो आउँदा घरमै बस्नेहरु धेरै भेटिएको उनले बताए ।
नगरपालिकामा राजनीतिक दल, नगरपालिका र प्राथमिक स्वास्थ्य केन्द्रको अझैपनि दोहोरी चलिरहेको छ । सामाजिक संजालमा उनीहरुको भाँडभैलो छरपष्ट छ । राजनीतिक रुपमा चर्चा र दाबी चलिरहेपनि उनीहरुको पौठेजोरी पछि मात्रै ढोरपाटन नगरपालिका एक बर्षपछि व्युझिएको हो । गत बर्षको जेठपछि बल्ल ढोरपाटन नगरपालिकामा पीसीआर सुरु भएको स्वास्थ्य शाखाका प्रमुख घनश्याम चालिसेले बताए । पीसीआर सुरु भएपनि एकादुई स्थानमा मात्रै स्वाब संकलन भएको हो ।
पालिकामा भएको भिटिएम पनि प्रयोगमा आइनसकेकोले परीक्षणको दायरा नबढेको प्रष्ट भएको हो । नगरपालिकाको चासो कम भएकै कारण वडा नं. ४ ले आफ्नै पहलमा परीक्षण थालेको छ । पालिका तहबाट वडा नं. ९ को केही स्थानमा मात्रै परीक्षण भएको हो । ‘समयमा परीक्षण नगर्दा गम्भिर बिरामी भएपछि मात्रै अस्पताल आउनेहरुले ज्यान गुमाईरहेका छन्’ स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले भने, ‘घर घरमा भयाबह अबस्था छ, त्यो खोजी हुन सकेको छैन ।’
परीक्षण नबढेकोसहित बैसाख पहिलो सातादेखिको निशेधाज्ञा पालना नहुँदा संक्रमण फैलिएको स्वास्थ्यकर्मीको टिप्पणी छ । ‘विवाह भोजले गाउँतहसम्म संक्रमण फैलियो, अहिले शंकास्पद संक्रमितको मलामी पनि उत्तिकै भीड छ’ ढोरपाटन नगरपालिका ३ का चुडामणी कंडेलले भने, ‘सयौं संक्रमित थपिने खतरा बढीरहेको छ ।’ कंडेल बडिगाड गाउँपालिकाको स्वास्थ्य प्रमुख समेत हुन् । अझैपनि पालिका तहबाट परीक्षणको दायरा बढाउने कुरा नचलेको उनले टिप्पणी गरे । परीक्षण गर्ने र संक्रमितलाई अलग नगरेसम्म महिनौ निशेधाज्ञा लगाएपनि चेनब्रेक नहुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।
बडिगाड गाउँपालिकामा पनि मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृत्यु हुने अअिधकांस भोजभतेरमा गएका र केही आफ्नै लापरवाहीबाट दुर्घटनामा परेको भेटिएको हो । तर बडिगाडले भने परीक्षणलाई व्यापक बनाइसकेको छ । ‘स्थानीयले नमानेपनि बोलाएर परीक्षण गराएका छौं, धेरैको पोजेटिभ पनि आएको छ’ कंडेलले भने, ‘समयमा संक्रमित पहिचान भएमा ज्यान जान पाउँदैन ।’ अन्य रोग भनेर बस्दा संक्रमित कमजोर बनिसकेको भेटिएको उनले अनुभव सुनाए ।
भीड नियन्त्रण नभएपछि कतिपय गाउँसम्म प्रशासनले सशष्त्र प्रहरी परिचालन गरेको छ । बागलुङमा बिहिबारसम्म १ हजार सक्रिय संक्रमित पुगिसकेका छन् । सातादेखि परीक्षण गरिएका मध्ये ६० देखि ८० प्रतिशत सम्म संक्रमित भेटिएकोले थपिनेहरु संक्रमितको लापरवाहीबाट सरेकाहरु छन् । जटिल समस्या नभएकालाई घरमा बस्न लगाएपनि उनीहरुले मापदण्ड पालना नगर्दा अन्यमा सरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->