काठमाडौं, ७ जेठ – थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड-१९ सङ्क्रमित ३५ जना महिलाले स्वस्थ सन्तानलाई जन्म दिएका छन् ।
दोस्रो लहर शुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ जना र जेठमा आठ जना गरी २० महिलाले शल्यक्रियामार्फत आफ्ना सन्तानलाई जन्म दिएका हुन् ।
त्यस्तै, वैशाखमा आठ जना र जेठमा सात जना गरी १५ जनाको ‘नर्मल डेलिभरी’ भएको अस्पतालले जनाएको छ । बाहिरबाटै कोभिड भएर आएका वा अस्पताल आएपछि पत्ता लागेका महिलालाई अरुबाट छुट्टै राखेर प्रसूति सेवा दिइएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले वताए । उनले अस्पतालले कोभिड भएका महिलालाई सेवा दिदा उनीहरुबाट अरुलाई सर्न नदिने गरी ब्यवस्था मिलाएको वताए ।
यो अस्पतालले चार आइसियूसहित ८४ शैय्या कोभिड लागेर आउने गर्भवतीका लागि छुट्टाएको छ । अस्पताल आउँदा नै लक्षण देखिएका र शङ्का लागेका बिरामीलाई अरुबाट छुट्टाइने गरिएको उपनिर्देशक अधिकारीले बताए । उनीहरु अरुबाट छुट्टाएर राखेर पिसिआर परीक्षण गरेर पोजेटिभ आएमा ‘आइसोलेसन’ शैय्यामा राखिन्छ । कसैलाई शुरुमा नदेखिने र अस्पतालमा भर्ना गरिएपछि सङ्क्रमण भएपछि अस्पतालले उनीहरुलाई पनि आइसोलेनमा राख्ने ब्यवस्था मिलाएको छ ।
अस्पतालले थापाथलीस्थित भवन र कुपण्डोलस्थित भवनमा कोभिडका लागि र्शय्याको व्यवस्था गरेको जनाएको छ । थापाथलीमा सङ्क्रमित महिलाका लागि पाँच अक्सिजनसहितका शैय्या गरी ३० शैय्या छुट्टाइएको छ ।
त्यस्तै, कुपण्डोलमा अक्सिजनसहित ५० शय्या ९हाइ डिपेन्डेन्सी युनिट० रहेको छ । सो भवनमा आवश्यक चिकित्सकसहित टोलीको व्यवस्था छ । उपचारमा रहेका कुनै पनि बिरामीका लागि चार आइसियू कोभिडलाई छुट्टाइएको छ । सङ्क्रमित गर्भवती महिलालाई प्रसूति सेवाका लागि छुट्टै कोठाको व्यवस्था मिलाएको छ । शल्यक्रियाका लागि एउटा भिन्दै कोठाको ब्यवस्था गरिउको छ ।
थापाथलीमा सुत्केरी र गर्भवती मात्रै राखिने गरिएको अस्पतालले जनाएको छ । कुपण्डोलस्थित ५० शैय्यामा भने गर्भवतीसँगै अरु महिलालाई पनि राख्ने गरिएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत अन्य अस्पतालले उनीहरुकोमा शैय्या खाली नहुँदा महिलालाई त्यो अस्पताल पठाउने गरेका छन् ।
अस्पतालमा कुपण्डोलमा १२ जना र थापाथलीमा १५ गरी अहिले २७ महिला सङ्क्रमित छन् । कोभिड र अरु बिरामीलाई अस्पताल प्रवेश गर्नासाथ ट्रायलबाट छुट्टाउने व्यवस्था मिलाइएको छ । शङ्का लागेका महिलालाई पिसिआर गरेर पोजिटिभ हुँदा आइसोलेसन र नभएमा सामान्य वार्डमा राखिने गरिएको अस्पतालले जनाएको छ । कुनै पनि महिला उपचारका लागि अस्पताल प्रवेश गरेपछि उनका परिवार वा सम्पर्कका व्यक्तिलाई सङ्क्रमण भएमा त्यसका आधारमा अरु व्यक्तिको पनि पिसिआर गर्ने गरेको छ ।
पहिले लक्षण नदेखिएका महिलालाई पछि अस्पतालमा रहँदा ज्वरोलगायत कुनै किसिमको स्वास्थ्य समस्या देखिएमा पिसिआर गरेर कोभिड वार्डमा सारिने गरिएको छ । निर्देशक अधिकारीका अनुसार सकेसम्म कोभिडका बिरामीलाई नन कोभिडसँग नजिक गराइँदैन ।
सबै बिरामी र कुरुवालाई माक्स, भाइजर र दूरी कायम गर्ने व्यवस्था मिलाइएको जनाएको छ । एक तिहाइ कर्मचारी सङ्क्रमित भए पनि सेवामा समस्या नपर्ने गरी व्यवस्था मिलाइएको छ । पहिलो कोभिडमा जसरी अहिले धेरै स्वास्थकर्मीलगायतका कर्मचारी सङ्क्रमित छैनन् । स्वास्थ्यकर्मीलगायत कर्मचारी खोपका कारण र अघिल्लो वर्ष काम गरेकाले बढी सजग हुँदा अहिले सङ्क्रमण कम सङ्ख्यामा देखिएको हो । स्वास्थ्यकर्मीले आआफ्नो घरघरमा आफन्त बिरामी भएको देखेकाले पनि सहयोग गर्नुपर्छ भन्ने भावना रहेको छ ।
अस्पतालमा केही समय पहिलेसम्म अक्सिजनको समस्या भए पनि अहिले समाधान हुन थालेको अस्पतालका उपनिर्देशक अधिकारीले बताए । उनका अनुसार अहिले बिस्तारै आवश्यकताअनुसार सिलिण्डर आउन थालेकाले समस्या समाधान भएको छ । अस्पतालमा अहिले एन–९५ माक्स अभाव हुनथालेको छ । उनका अनुसार अभाव हुन नदिन विभिन्न संस्थासँग पहल भइरहेको छ ।
बहिरङ्ग सेवासमेत निरन्तर गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा बहिरङ्ग सेवा अवरुद्ध गर्दा आकस्मिक सेवामा बढी चाप हुने भएकाले बहिरङ्ग सेवालाई नियमित गरिएको हो ।
गर्भवती अवस्थामा वा सुत्केरीमा कुनै पनि महिलाको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले त्यही समयमा कोभिड हुँदा जोखिम बढ्ने उपनिर्देशक अधिकारीले बताए । अनुसन्धानले पनि यो अवस्थामा जोखिम भएकाले अझै बढी ध्यान दिनुपर्ने उनको धारणा छ । अरु सङ्क्रमितजस्तै गर्भवतीमा सङ्क्रमण भएमा निमोनिया, सास फेर्न कठिनलगायतका समस्या हुन्छ । आमा कोभिड भएपनि जन्मने बच्चालाई कोभिड हुने सम्भावना कम देखिएको छ ।





